सडक नहुँदा बैतडीका उखु किसानलाई समस्या

  आइतबार १६, मङि्सर २०८१ १२:४०
परम्परागत कोलमा उखु पेल्दै सिगास गाउँका किसान ।

बैतडी । उखु पेलेर स्थानीय प्रविधिबाट गुड (सखर) उत्पादनका लागि प्रसिद्ध मानिएको गाउँमा छ किलोमिटर सडक नहुँदा बजारीकरण गर्न समस्या भएको छ । आयुर्वेदिक औषधीमा समेत प्रयोग हुँदै आएको गुड बिक्री गर्न स्थानीयले डोकोमै बोकेर बजार पु¥याउने गरेका छन् । तत्कालीन जिल्ला विकास समितिले निर्माण सुरु गरेको सिगास गाउँपालिका–१ को विन्द्रावन–जुकेपानी, बेसरा, इराना छ किलोमिटर कृषि सडक स्तरोन्नति नहुँदा यहाँका किसानलाई कृषि उपज ढुवानीमा समस्या हुँदै आएको हो । 

बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गबाट छ किलोमिटर दुरीमा रहेका सिगास गाउँपालिका–१ का जुकेपानी, इराना, माण्डौँ, बेसरा, भौनी, अङ्डेगाडा, दाब र बल्लेकाना गाउँ, पाटन नगरपालिका–१०, बाडीखाना र सल्लेवासा गाउँका किसान उखु खेती गरेर गुड उत्पादन गर्दै आइरहेका छन् । यहाँको गुड बजारमा प्रतिकिलो तीन सय रुपियाँमा बिक्री हुने गरेको छ । 

सिगास गाउँपालिका–१, माण्डौँ गाउँमा हरेक वर्षको हिउँदमा दुई सय वटा तामाको तौला ९करिब १० क्विन्टल० बराबर गुड उत्पादन हुने गरेको छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा पकाएको गुड डोकोमा बोकेर बेच्नु पर्दा समस्या हुने गरेको यहाँका अगुवा किसान नन्दे धामीले बताउनुभयो । उहाँले इराना र माण्डौँ गाउँमा अहिलेसम्म सडक, बिजुली र उखु पेल्ने मेसिन नभएकाले एक महिनासम्म परम्परागत कोलमा उखु पेल्ने गरेको बताउनुभयो ।

बजारमा गुडको राम्रो मूल्य भए पनि प्रविधि र ढुवानी गर्ने सडक नहुँदा किसान मर्कामा परेको सिगास गाउँपालिका–१ का अगुवा किसान पार्वती भट्टले बताउनुभयो । उहाँले एक सय तौला ९सात किलो गुड पाक्ने तामाको भाँडा० बराबर गुड उत्पादन गर्ने किसानले दुई लाख रुपियाँ आम्दानी गर्न सक्ने सम्भावना भए पनि सडक, यातायात र उखु पेल्ने प्रविधि नभएको गुनासो गर्नुभयो । 

तामाको भाँडामा पकाएको यहाँको गुड शरीरका लागि अमृत समान रहेको बैतडी सदरमुकामस्थित आयुर्वेदिक मेडिकलका सञ्चालक वैद्य भोजराज भट्टले बताउनुभयो । उहाँले बैतडीको गुड आशव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधीका रूपमा प्रयोग हुने गरेको बताउनुभयो ।  

गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृतिक गुणकारी तत्व पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथरोग, दमरोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने उहाँले बताउनुभयो । यहाँको गुड तामाको भाँडोमा पाँच घण्टा आगोमा पकाइन्छ । मङ्सिरदेखि फागुनसम्म उखु पेल्ने चलन छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गबाट पाँचरसात किलोमिटर मात्रै दुरीका गाउँमा गतिलो सडक पुग्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्थानीय तहसँग सडक कालोपत्रे गर्न बजेट छैन । प्रदेश र सङ्घबाट योजना ल्याउन पहुँच पुग्दैन । विकास गर्न वडालाई त झन् कुनै पनि आर्थिक अधिकार छैन ।” 

clock आइतबार १६, मङि्सर २०८१ १२:४०

प्रतिक्रिया