जग्गा पाउने आसमा कैलालीका सुकुमवासी
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–१०, आमखैया शिविरमा बसोबास गरेका ६५ घरपरिवार लालपुर्जाको आशमा बसेका छन् । सरकारले २०५७ सालमा कमैया मुक्तिको घोषणा गरेपछि कैलालीका विभिन्न ठाउँमा कमैया बसेका तर मुक्तिको घोषणा भएको लामो समयसम्म गाँसबासको ठेगाना नभएपछि आमखैया जङ्गलमा बस्दै आएका छन् । मुक्त कमैयाको परिचयपत्र नभएपछि बसोबासको टुङ्गो नलागेपछि उनीहरूले धेरै दुःख पाएको गुनासो गरे ।
२०६३ सालमा सात दलको आमखैया जङ्गलमा बस्ने निर्णय र सहमतिपछि आफूहरू सो ठाउँमा बस्दै आएको शिविरका भलमन्सा राजकुमारी चौधरीले बताए । उनले भने, “यताको टुङ्गो नलाग्दासम्म हामी धेरै ठाउँमा सर्दै बस्दै गरेउँ, परिचयपत्र नभएका कारण सबै ठाउँबाट हटाउँथे ।”
सरकारले मुक्त कमैयाका लागि पाँच कट्ठा घरबासका लागि जग्गा र घर बनाउन सहयोग गरे पनि आमखैया शिविरमा बसोबास गर्ने कसैले पनि सो सुविधा नपाएको उनले बताए । शिविरमा बस्ने १२ जनाबाहेक अरूको मुक्त कमैया परिचयपत्र नभएको समेत शिविरका दिलबहादुर चौधरीले बताए ।
मुक्त कमैया परिचयपत्र पाएका १२ जनालाई एकै ठाउँमा एकरदुई कट्ठा जग्गा दिएपछि उनीहरू सोही शिविरमा बस्न आएका हुन् । अहिले सिसैया, शिउपुर, ठेएउ, झिरौखा, लठैयाबाट आएका मुक्त कमैया तथा सुकुमवासी सो शिविरमा बस्दै आएका छन् । उनीहरू प्रतिव्यक्ति दुईदेखि पाँच कट्ठा जग्गामा घरबास बनाएर बसेका छन् । भलमन्सा राजकुमारीले भने, “बिजुली बत्ती, खानेपानी नभएको खाली जङ्गलमा हामीलाई बसालेपछि धेरै वर्ष दुःख काटेउँ । बत्ती नहुँदा राति बाघ, स्यालले घरमा पालेका कुखुरा, बाख्रा मान्छेलाई नै खान्छ कि भन्ने डर थियो ।”
राजकुमारीकै सक्रियतामा अहिले बस्तीमा बिजुली पुगेको छ । ग्राभेल बाटोको सुविधा छ । संस्थाको सहयोगमा घर घरमा शौचालय बनेको छ । अब उनीहरूलाई बसेको जमिन दर्ता भएर आफ्नो नाममा लालपुर्जा आइदिए हुन्थ्यो भन्ने लागेको छ ।
राजकुमारीले भनीन्, “बस्तीमा हामी मुक्त कमैया छौँ, सरकारले हामीलाई सुकुमवासीका हिसाबले हेर्छ । भूमि आयोगले जग्गा नाप, नक्सा पनि गरेको छ । हाम्रो नाममा पनि लालपुर्जा आउँछ कि भन्ने आस छ ।” बस्तीका ६५ वर्षीय सुविग्यादेवी डङ्गौरा थारू चिराकी हुनुहुन्छ । उनले गाउँमा पुरुषजति सबै ज्याला, मजदुरीका लागि बस्तीबाहिर तथा भारत गएकाले बस्तीमा आउने सबै काम महिलाले मिलेर गर्ने गरेको बताइन् ।
मुक्त कमैया भएर पनि परिचयपत्र नभएका कारण स्थायी बसोबासका लागि निकै सङ्र्घष गरेको उनले बताए । घोडाघोडी नगरपालिका–१० का वडाध्यक्ष विजयराज स्वाँरले आमखैया मुक्त कमैया शिविरमा मुक्त कमैया र सुकुमवासीको बसोबास रहेको उल्लेख गरे । उनले ऐलानी जमिनमा बसेको सो बस्तीमा भूमि आयोगले नापजाँचको काम सकेको जानकारी दिँदै उनीहरूले भूमिहीन सुकुमवासीको नाममा जग्गाधनी पुर्जा पाउने बताए ।
प्रतिक्रिया