चिसो बढेपछि चर्किएका घर र टहरामै छ बझाङका भूकम्प पीडितको बास
बझाङ । अस्थायी टहरामै बास बसिरहेका बझाङको बुंगल नगरपालिकाका भूकम्प प्रभावित चिसोपछि चर्किएकै घरमा बस्न बाध्य भएका छन् । २०८० असोज १६ र २० गते गएको भूकम्पबाट प्रभावित घर परिवारले भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न नसक्दा अस्थायी टहरामै बसिरहेका थिए ।अहिले भने चिसो बढेका कारण टहरामा बस्न नसके पछि ज्यानलाई नै जोखिममा राखेर चर्किएकै घरमा बस्नु परेको हो ।
२०८० असोज १६ आएको भूकम्पले घर भत्किए पछि अस्थायी आवास निर्माण गरेरर बसिरहेको र आजभोलि चिसो बढेका कारण टहरामा बस्न नसकिने हुँदा फेरि भूकम्प आउने डर हुँदाहुँदै पनि जोखिम मोलेर भूकम्पले चर्किएकै घरमा बसिहेको बुंगल नगरपालिका २ रैसेल्लीका भूकम्प पीडित कर्ण जाग्रीले बताउनुभयो ।
यस अघि बुंगल नगरपालिकाले ,पालिका भित्रका भूकम्प प्रभावितको पहिचान गरी नगरपालिका प्रभावित १ सय ८७ घर परिवारलाई अस्थायी आवास निर्माण गर्नको लागी पहिलो किस्ता बापत प्रति प्रभावित परिवार २५ हजार मात्रै उपलब्ध गराएको थियो । अस्थायी आवास निर्माण पछि दोस्रो किस्ता उपलब्ध गराउने भनिएको भएपनि अहिलेसम्म पनि दोस्रो किस्ता रकम पाउन सकेका छैनन् । भूकम्प प्रभावित परिवार मध्ये केहीले गत फागुनमा र केहीले गत बैशाखमा पहिलो किस्ता रकम पाएपनि दोस्रो किस्ता रकम अझै नपाएका हुन् ।
अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागी नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नपाएको भूकम्प प्रभावितको गुनासो छ । २ किस्तामा गरी ५० हजार रुपैयाँने भनेको नगरपालिकाले दोस्रो किस्ता नदिँदा , प्रभावितले बनाउन थालेका कतिपय अस्थायी आवास अधुरै छन् भने बनाएकाहरूले ऋण तिर्न पाएका छैनन् । अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागी नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नगरपालिकाले दोस्रो किस्ता नदिँदा निर्माण सामग्रीको रकम तिर्न नसकेको बुंगल नगरपालिका ५ व्युनाडाका राम बहादुर बिकको गुनासो छ ।
स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) ले भूकम्प प्रभावितको पहिचान गरी लाभग्राहीको विवरण बिपद् पोर्टलमा प्रविष्ट गरी जिल्ला विपद् व्यवस्थापन समितिमा दोस्रो किस्ता अनुदान माग गर्नु पर्ने हुन्छ । तर बुंगल नगरपालिकाले भने समयमै अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० बमोजिम आवश्यक प्रक्रिया पुरा गरेका कारण दोस्रो किस्ता भुक्तानी हुन नसेको हो ।
बुङ्गल नगरपालिकामा हालसम्म अस्थायी आवासको दोस्रो किस्ता अनुदान निकासा नभएको हुँदा कार्यविधि बमोजिम आवश्यक प्रक्रिया पुरा गर्नुका साथै स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) बाट पहिचान भई कायम भएका लाभग्राहीको विवरण यथाशीघ्र बिपद् पोर्टलमा प्रविष्ट गरी दोस्रो किस्ता अनुदान माग गर्न भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले बुङ्गल नगरपालिकालाई लेखी पठाएको जिल्ला विपल व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताउनुभयो ।
पहिले आवश्यक प्रक्रिया थाहा नपाएर जिल्ला विपद् व्यवस्थापन समितिबाट दोस्रो किस्ता रकम भुक्तानी नभएको र अब केही दिनमै नगरपालिकाले आवश्यक प्रक्रिया पुरा गरी दोस्रो किस्ता माग गर्ने बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले बताउनुभयो । भूकम्पको १४ महिना बिति सक्दापनि स्थानीयले दोस्रो किस्ता रकम नपाउँदा प्रभावितले बनाउन थालेका कतिपय अस्थायी आवास अधुरै छन् भने बनाएकाहरूले ऋण तिर्न पाएका छैनन् । घर आँगनकै सरकारले गरेको यो हेलचेक्र्याइँ प्रति भूकम्प प्रभावितले आफुहरूको दुःख बुझ्न नसकेको प्रभावितको गुनासो छ ।
प्रतिक्रिया