सुदूरपश्चिम महोत्सव बन्यो बालबालिकाको रमाइलो संसार
कैलाली । सुदूरपश्चिम महोत्सवमा शनिबार बालबालिकाको उल्लेखनीय सहभागिता देखिएको छ। महोत्सव स्थलमा रहेको बाल उद्यान, खेलकुद सामग्री तथा गीत–संगीतका कार्यक्रममा बालबालिका रमाउँदै झुमेका छन्।
धनगढीमा बालबालिकाका लागि छुट्टै खेल्ने स्थान र नियमित मनोरञ्जनको व्यवस्था नहुँदा मंसिर २२ बाट सुरु भएको महोत्सवको पर्खाइमा बसेको अभिभावकहरूले महोत्सवलाई बालबालिकाका लागि उपयुक्त अवसरको रूपमा लिएका छन्।
अभिभावकका अनुसार, महोत्सवले बालबालिकालाई खुला वातावरणमा रमाउने मात्र होइन, सामाजिक र सांस्कृतिक गतिविधिसँग जोडिने अवसर पनि दिएको बताए । महोत्सव स्थलमा रहेका खाजा तथा खेलौनाका स्टलहरूमा समेत बालबालिकाको भीड उल्लेख्य देखिएको छ।
बालबालिकाहरूले आफुहरूले महोत्सवमा निकै रमाइलो गरेको बताउँदै खेल, संगीत र बाल उद्यान सबैभन्दा मनपर्ने आकर्षण भएको प्रतिक्रिया दिएका छन्।
यद्यपि, महोत्सव स्थलमा भीड बढ्दै जाँदा बालबालिका हराउने जोखिमसमेत रहेको भन्दै अभिभावकहरूले बालबालिकाका लागि छुट्टै सुरक्षित स्थानको व्यवस्था गर्न आयोजकसँग माग गरेका छन ।
आयोजक पक्षले आगामी दिनमा बालबालिकालाई लक्षित थप कार्यक्रम र खेलकुद गतिविधि थपिने जनाएको छ। रमाइलो मेला संयोजक एबम कैलाली उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रेम बहादुर धामीले स्थान अभावका कारण बालबालिकाका लागि छुट्टै स्थानको ब्यबस्था गर्न नसकिएको बताए ।
आगामी दिनमा बालबालिकाका लागि थप सामाग्री सहित सुरक्षित स्थानका लागि पहल गरिने संयोजक धामीले बताए । उनले शनिबार अन्यदिनभन्दा बढी भिडभाड हुने भएकाले बालबालिका अभिभावक संग केहि बेर हराएपनि सुरक्षा ब्यबस्था राम्रो भएका कारण केहि क्षणमै अभिभावक संग भेट गराएको बताउदै अभिभावकहरुलाई समेत आफ्न नानीबाबुको ख्याल गर्न आग्रह गरे ।
प्रतिक्रिया