च्याउ खेतीबाट मनग्गे आम्दानी गर्दै डडेल्धुराका किसान
डडेल्धुरा । विशेषगरी ग्रामीण क्षेत्रका युवा विदेश जाने र रोजगारीको खोजीमा भौंतारिरहेका हुन्छन् । युवा किसान खेमराज जोशी व्यावसायिक च्याउ खेती गरेर उदाहरणीय बनेका छन् । जोशीले अमरगढी नगरपालिका–२ मौरडामा च्याउ खेती गरिरहेका छन् । जोशीले च्याउ खेतीमार्फत अन्य युवालाई पनि प्रेरणा दिइरहेका छन् ।
कामको सिलसिलामा वैदेशिक रोजगारीको बाटो पछ्याएर उनी काठमाडौं पुगे । जापानी र कोरियन भाषा अध्ययन गर्न थाले । भाषा अध्ययनसँगसँगै काठमाडौंको एक च्याउ फार्ममा काम पनि गर्न थाले । विदेश जाने योजनासमेत त्यागेर गाउँ फर्किने सोच उनले बनाए । ‘विदेशमा रहेका साथीहरू पनि दुःख सुनाउँथे । खेतबारीमा काम गर्ने गरेको, बंगुर खोरमा काम गरेको खबर सुनाउन लागे । अनि म विदेश जाने सोच त्यागेर यो कर्ममा छु,’ जोशीले भने ।
उनको फार्ममा हरेक वर्ष २० हजार केजी च्याउ उत्पादन हुन्छ । च्याउको मूल्य ४० लाख रुपैयाँसम्म पुग्छ । यी च्याउ अहिले डडेल्धुरामा मात्र सीमित छैनन्, जोशीले बैतडी, बझाङ, डोटी, कैलाली र कञ्चनपुरसम्म निर्यात गरिरहेका छन् ।
यसका साथै जोशीले च्याउको बीउसमेत उत्पादन गर्न थालेका छन्, जसले आर्थिक क्षेत्र बलियो बनाउन सहयोग पुगेको छ । वार्षिक रूपमा उनले २ सय ग्रामका ५० हजार प्याकेट च्याउको बीउ बिक्री गर्छन् । बीउबाट मात्रै उनी १० लाख वार्षिक कमाइ गर्छन् ।
‘कन्ये’ र ‘सिताके’ जातका च्याउहरू उनले उत्पादन गरिरहेका छन् । उनको व्यावसायलाई कृषि ज्ञान केन्द्रले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको छ । कृषि ज्ञान केन्द्रले दिने अनुदानले जोशीको व्यवसायलाई थप मद्यत पुगिरहेको छ ।
यस्तै गन्यापधुरा गाउँपालिका–१ का प्रसाददत्त अवस्थीले च्याउ खेतीबाट वार्षिक २० लाख आम्दानी गर्छन् । आफ्नै गाउँठाउमा मिहिनेत गरेपछि राम्रै आम्दानी गर्न सकिने उनले बताए । आफ्ने फर्ममा उत्पादित च्याउ तराईका कैलाली र कञ्चनपुरसम्म निर्यात गर्ने गरेको बताए ।
यस्तै गन्यापधुराका अर्का किसान अन्तराम जोशीले पनि व्यवसायिक रूपमा च्याउखेती गर्छन् । आफ्नै बारीमा च्याउ खेती गरेर विदेशको जस्तै कमाइ आफ्नै माटोमा गर्न सकिने उनले बताए । उनले बजारका लािग समस्या नभएको पनि बताए ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका किसानलाई प्राविधिक सहयोग गरिरहेको बताएको छ । केन्द्रका सूचना अधिकारी रामसिंह बोहराका अनुसार पराल र टर्नेल तथा पानी ट्यांकी निर्माणमा सहयोग गरिरहेको हो ।
डडेल्धुरामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका किसान थोरै भएकाले बजारको समस्या नभएको उनीहरूले बताए । कृषि ज्ञान केन्द्रका अनुसार एक दर्जनको हाराहारीमा ठूलो मात्रामा च्याउ खेती गर्ने किसान यहाँ रहेका छन् ।
प्रतिक्रिया