रोजगारी खोज्न भारत पलायन भएपछि पुरै गाँउ सुनसान

  बिहिबार ०८, कार्तिक २०८१ ०९:३०

बैतडी । आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् । तिहारको मुखैमा घरको ढोकामा ताल्चा लगाएर रोजगारी खोज्न सिङ्गै गाउँ भारतको बैङ्लोर हिँडेपछि सदरमुकामको तिरगाउँ सुनसान बनेको छ ।  

दशरथ चन्द नगरपालिका–४, तिरगाउँका २२ वर्षीय हरिस तिरुवा चार कोठको घरमा ताला लगाएर बालबच्चासहित भारत हिँडेपछि मङ्गलबार गाउँमा रुवाबासी चल्यो । हरिससँगै गाउँका दीपक तिरुवा, महेश तिरुवाको परिवार पनि भारत हिँडेका छन् । स्वदेशमा गरिखान पर्याप्त जग्गा जमिन नभएको र ज्यामी काम नपाउँदा छोरा भारत पलायन भएको मदन तिरुवाले पीडा सुनाउनुभयो । 

ढोकामा ताल्चा लगाएर गाउँबाट एकैचोटि ३० जना युवा परिवारसहित भारत हिँडेपछि गाउँ उराठ लाग्दो बनेको दशरथचन्द नगरपालिका–४ का युवा प्रेम बोगटीले बताउनुभयो । 

ज्यामी काम गर्दै आइरहेका हरिस तिरुवाले घरको ढोकामा ताल्चा लगाएर आमा, परिवार र बालबच्चा बोकेर भारत जानु परेको बाध्यता सुनाउनुभयो । रोजगारीका लागि भारत पलायन हुने परिवारलाई लिन मङ्गलबार दुई वटा हाइस गाडी गाउँमा पुग्दा छिमेकीले आँसु थाम्न नसकेको स्थानीय प्रेम तिरुवाले बताउनुभयो । रोजगारीका लागि घरपरिवारसहित भारत पलायन भएपछि गाउँ नै रित्तिएको दृश्य पहिलो पटक देखेको उहाँले बताउनुभयो ।  

रोजगारी खोज्न भारत जाने घरपरिवारलाई बिदाइ गर्न सडकसम्म आइपुगेका मदन तिरुवाले जिल्ला सदरमुकाममै रोजगारीको बाटो नभएको बताउनुभयो । उहाँले, स्थानीय तहको सरकारले डोजर मेसिन भित्र्याएपछि मजदुरले काम पाउन छाडेको बताउनुभयो । 

पछिल्लो समय परिवारसहित भारत पलायन हुनेमा अधिकांश दलित समुदायका व्यक्ति रहेका छन् । यहाँको सुर्नयाँ गाउँपालिकाको  पत्थरकोटबाट मात्रै दुई सयभन्दा बढी दलित भारतमा काम गरिरहेको स्थानीय जीवन पार्कीले बताउनुभयो । 

दशरथ चन्द नगरपालिका–४, ५, ६, ७ ८, ९ र १० नम्बर वडाका अधिकांश दलित मुक्त हलियासमेत भएकाले रोजगारीका लागि भारत जाने गरेको हलिया मुक्ति समाजका अगुवा राजुराम भुलले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “दशरथ चन्द नगरपालिका–४, बाडीलेक गाउँबाट मात्रै ६० जना युवा रोजगारी खोज्न भारत गएका छन् । तीमध्ये ३५ जना मुक्त हलियाका छन् ।” स्थानीय तहले बेरोजगारीलाई एक सय दिनको रोजगारी दिँदै आएको भए पनि मुक्त हलिया समेटिन नसकेको उहाँले बताउनुभयो ।  

clock बिहिबार ०८, कार्तिक २०८१ ०९:३०

प्रतिक्रिया