डडेल्धुरा प्रहरीले गर्‍यो किशोरी हत्याका आरोपितलाई सार्वजनिक

  आइतबार २७, असोज २०८१ १७:४०

डडेल्धुरा । डडेल्धुरामा एक किशोरी हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। 

प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ।

आरतीको शुक्रवार प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो। असोज २५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नआएपछि परिवारले खोजीकार्य गरेका थिए। त्यसपछि हिजो (शुक्रबार) प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेपछि उक्त शव आरतीको भएको खुलेको थियो।

घटनास्थलबाट करिब २० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा टेकबहादुर भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

कस्तो थियो घटना ?

१४ वर्षीया किशोरी आरती भट्टराई भट्टराई २५ गते दिउँसोसम्म घरमै रहेको र ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन्। बजारमा उनले चप्पल पनि किनेको पाइएको छ। भण्डारीसँग किशोरीको एक बर्षअघिबाटै चिनजान रहेको पाइएको छ।

डीएसपी श्रेष्ठका अनुसार किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ। कुराकानीकै क्रममा आवेशमा हत्या भएको अनुमान गरिएको छ।

हत्यापछि ६ बजेतिर भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा सामानजस्तै प्याक गरी पसलको बाहिर राखेको पाइएको छ। हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकै रहेका सुरक्षाकर्मीले देखेर उठाउन सहयोग गरेका थिए। 

आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। पसलमा शव राखेर निस्किएका उनी त्यसपछि फेरि तीन किमी पछाडि नै फर्केर तुफानडाँडामा तीन घण्टा मदिरा पिएको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिएका छन्। 

९ बजेतिर फर्केर उनले आफ्नो पसल खोले। शव व्यवस्थापनका म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा पर्दा मोटरसाइकल नालीमा ढल्न पुग्यो।

त्यसपछि पोखरा बजारको १० मिटर पूर्वतर्फ शव फालेर भण्डारी भागेको अनुसन्धानमा देखिएको श्रेष्ठले जानकारी दिए। तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुगेको थियो। शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले दोस्रो दिन बिहान शौचालयमा लुकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो।

clock आइतबार २७, असोज २०८१ १७:४०

प्रतिक्रिया