बैतडीमा किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

  आइतबार २७, असोज २०८१ ०६:२४

धनगढी । बैतडीमा एक किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज एवं प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार नियन्त्रणमा लिएको बताएका छन्।

किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। स्थानीयले जोशीलाई महाकाली पारी भारततर्फबाट नियन्त्रणमा लिएका थिए। स्थानीयले दाम्लोले बाँधेर जोशीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्।

किशोरी शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै जर्किन लिएर घरबाट निस्किएकी थिइन्। तर दिउँसोसम्म पनि घर नआएपछि परिवारले उनको खोजी गरेका थिए। अहिले किशोरीको अवस्था अज्ञात छ। चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लागेको छ।

प्रहरीकाअनुसार किशोरीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको छ। शनिबार बिहान जिल्ला प्रहरी कार्यालय बैतडी पुगाएका जोशीको जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताएका छन्। ढुंगानाले बेपत्ता किशोरीको खोजीकार्य समेत भइरहेको बताएका हुन्।

पक्राउ परेका प्रहरी हवल्दार जोशीले ती किशोरीसँग आफ्नो चिनजान र कुराकानी हुने गरेको बताए पनि बेपत्ता पारेको विषयमा कुनै जानकारी नभएको दाबी गरेका छन्। प्रहरी हवल्दारलाई सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताएका छन्। किशोरीलाई बेपत्ता पारेको भन्दै किशोरीका आफन्तले नै आरोप लगाएपछि थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताएका हुन्।

clock आइतबार २७, असोज २०८१ ०६:२४

प्रतिक्रिया