कैलालीका किसानलाई धानबाली भित्र्याउन व्यस्त
कैलाली । कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।” केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम खेर जाने हो कि भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ ।
खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेरको पालो कुर्नुपरेको दुःखेसो पोख्नुभयो । धान थ्रेसर गर्नका लागि पालो पर्खिंदासमेत धान थ्रेसर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उहाँले बताउनुभयो ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसान यतिबेला मौसमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउन लागिपरेका छन् ।
किसानहरु पहिले एकअर्कासँग पालोपैंचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथे भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन । नेपालीहरुको महान चाड बडादसैँ सुरु भइसकेको छ । दसैँको टीकाको दिन आउन तीन दिन मात्रै बाँकी छ । तैपनि यहाँका किसान मौसममा गडबडी देखिन थालेपछि दसैँलाई बेवास्ता गर्दे उनीहरु खेतमा पाकेको धानबाली भित्र्याउन आ–आफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्यहरु जुटेको पाइन्छन् । केही थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसका छन । किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् । रासस
प्रतिक्रिया