चाडपर्व मनाउन फर्कनेहरूको गौरीफन्टा नाकामा दैनिक भिड बढ्दै

  आइतबार २०, असोज २०८१ २१:४०

धनगढी । चाडपर्व मनाउन भारतबाट फर्कने सुदूरपश्चिमबासीहरुको कैलालीको गौरीफंटा सीमा नाकामा भिड लागेको छ । गौरीफन्टा नाका भएर फर्कनेको सीमा नाकामा भिड बढेको हो ।

सुदूरपश्चिम प्रदेश बाट रोजगारीको लागि भारत जाने नागरिकको संख्या बढिभएका कारण यति वेला स्वदेश फर्किनेहरुको दैनिक भिड छ । भारतको सिम्ला, पुने, मुम्बई, सुरतलगायतका ठाउँबाट फर्कनेको बिहानैदेखि नाकामा भिड लाग्ने गरेको छ ।

चाडपर्व मनाउन फर्कनेको सङ्ख्या बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले बताए । नाकामै हेल्प डेस्क स्थापना गरेर स्वदेश फर्किरहेका नेपालीलाई सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ ।

सुदूरपश्चिमको विभिन्न जिल्लाबाट धेरैजसो मान्छे रोपाइपछि भारतको विभिन्न ठाउँमा स्याउ टिप्नका लागि जाने गरेका छन् । छोटो अवधिका लागि काम गर्न गएकाहरु दसैँ, तिहार मनाउन घर फर्कने गरेका छन् । यसैगरी, वर्ष दिन उतै बिताएकाहरू पनि चाडपर्व मनाउन फर्किरहेका छन् ।

रोपाइँपछि गाउँघरमा खासै काम नहुने गरेकाले चाडपर्वको लागि खर्च बनाउन स्याउ टिप्न जाने गरेको कैलारी गाउँपालिका –७ का सुन्दर चौधरीले बताए । उनले दुई, ढाई महिना काम गरेर दसैँ, तिहार मनाउन घर फर्केको बताए ।

चाडपर्व मनाउन फर्कनेहरूको नाकामा भिड बढेसँगै चेकजाँचमा पनि कडाइ गरिएको छ । गौरीफन्टा नाकामा भारततर्फ दुई स्थानमा नेपालतर्फ तीन स्थानमा चेकजाँच भइरहेको जनाइएको छ ।

सशस्त्र प्रहरीले दुई स्थानमा र नेपाल प्रहरीले एक स्थानमा चेकजाँच गरिरहेको छ । धेरै ठाउँमा चेकजाँच गरेर सुरक्षाकर्मीले चेकजाँचको नाममा दुःख दिइरहेको फर्कने कतिपय व्यक्तिले गुनासो गर्ने गरेका छन् ।

clock आइतबार २०, असोज २०८१ २१:४०

प्रतिक्रिया