आमाको मृत्युपछि तीन दिने शिशु सतिहत तीन जनाको पनि बिचल्ली

  आइतबार २०, असोज २०८१ १३:२७

अछाम । तीन दिनको शिशु बेला बेला डाँको छोइरहन्छ रुन्छ । जन्मिएको केही घण्टामै आमा गुमाएको अबोध बालकले आमाको स्नेह र स्तनपान दुवै पाएन । अछाम ढकारी गाउँपालिका ६ कि ३० वर्षीया सरिता देवी जैसीको समयमा उपचार नपाउँदा बिहीबार मृत्यु भएको थियो । मृत्युपछि तीन दिनको शिशुलाई सरिताको दिदीले हेरिरहेकी छन् । शिशुलाई उनले पनि राम्ररी स्तनपान गराउन पाएकी छैनन् । उनको दूध आउँदैन । शिशु भोकले व्याकुल भएर रुँदा फुपूलाई बोलाइन्छ र दूध चुसाइन्छ । पछिल्लो दुई दिनयता शिशुको भोक यसरी मेटिएको छ ।

ढकारी ६ मा सानो कच्ची घर छ, टिनले छाएको । त्यसको एउटा साँघुरो कोठामा ९ वर्षका बालक युवराज किरिया बसेका छन् । अर्का तर्फ उनका बुवा टङ्क छन् । टङ्क अपाङ्ग छन् । उनी आँखा देख्न सक्दैनन् । घरमा पुग्ने आफन्तहरू अबोध बालक किरिया बसेको देखेर विक्षिप्त हुन्छन् । त्यसैमाथि तीन दिनको शिशु भोक र तिर्खाले व्याकुल हुँदा र रुँदा उनीहरू पनि भक्कानिन्छन् । सरिताका अर्का ७ वर्षका छोरा लक्ष्मण बेला बेला टोलाइरहन्छन् । बेलाबेला रोइरहन्छन् । उनलाई जन्म र मृत्युबारे खासै थाहा छैन । त्यसैले होला आमा खोजिरहन्छन् । सरिताको जेठी छोरी छन् १२ वर्षकी मनीषा । आमाको मृत्यु, बुवा पनि अपाङ्ग हुँदा अहिले भाइहरूको अभिभावक उनै बालिका भएकी छन् । आमा सम्झिन्छिन्,रुन्छिन् अनि भाइहरूलाई ‘म छु नि। म पाल्छु तिमीहरूलाई’ भन्दै सम्झाउँछिन् ।

मध्यरातमा सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजाने क्रममा सरिताले बाटोमा नै बच्चा जन्माएकी थिइन् । त्यस लगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो । सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भयो । ढिलोगरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको थियो । ससुराको पनि दुई वर्ष पहिल्यै मृत्यु भइसकेको हुँदा घरको सबै जिम्मेवारी सरिताकै काँधमा आएको थियो । उनको पनि मृत्युले अहिले यो परिवार शोक र भोक दुबैसँग लडिरहेको छ ।

सरिताको मृत्युपछि किरिया खर्च पनि जुटाउन समस्या भएको बेला केही युवाहरूले आर्थिक संकलन गरेको २५ हजार रुपैयाँ सहित बच्चाहरूलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेपछि उनीहरूलाई केही राहत भएको थियो । ‘हामी पुग्दा त्यहाँको दृश्य निकै दर्दनाक थियो । आमा गुमाएर टुहुरा भएका साना बालकहरू विक्षिप्त थिए । तीन दिनको शिशु रोइरहेको थियो । हामीले केही सहयोग गरेपछि उहाँहरूलाई केही सहज भएको छ ’ स्थानीय टेक थापाले भने, ‘हामीले त्यो परिवारलाई अझै साथ र सहयोगको आवश्यकता देख्यौँ ।’ 

१२ वर्षकी मनीषा, ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण घर नजिकैका पञ्चज्योती आधारभूत विद्यालयमा पढ्छन् । मनीषा ७ कक्षामा, युवराज ५ कक्षामा पढिरहेका छन् । बुवा अपाङ्ग, आमा गुमाएपछि उनीहरूलाई अब पढ्न सकिँदैन कि भन्ने चिन्ताले सताउन थालेको छ । ‘मलाई पढ्न धेरै मन छ । जहाँ गएर , जस्तो दुख गरेर भएपनि पढ्न पाए हुन्थ्यो ’ किरियामा बसेका युवराजले त्यहाँ आउनेहरूलाई सोध्थे, ‘म अब पढ्न पाउँछु ?’

clock आइतबार २०, असोज २०८१ १३:२७

प्रतिक्रिया