सशस्त्रका सई नै तस्कर : बडाभोजकाे सामान भन्दै भारतबाट ल्याए धोती र कुर्ता

  बिहिबार १७, असोज २०८१ ११:०२

धनगढी । मंगलबार साँझ नेपाल–भारत सीमा नाका त्रिनगरमा खटिएको थियो, जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोली । सोही समयमा भारतबाट सु.प.प्र. ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो नाका छेउ डोकेबजारमा पुग्यो । स्कारपियोबाट उत्रिए सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) अम्मर बिष्ट । उनको साथमा गाडी चालक र एकजना अन्य व्यक्ति पनि थिए ।

 

गाडी चालकलाई ल्याउन भनेर सई बिष्ट डोकेबजारबाटै सु.प.प्र ०१ ००८ प ६५९८ नम्बरको मोटरसाइकलमा धनगढीतर्फ हिडे । प्रहरीको टाइगर टोलीका सदस्यलाई गाडीमा अवैध सामान छ की भन्ने शंका लाग्यो । टोलीका एकजना सदस्यले झण्डै दुई किलोमिटर धनगढीतर्फ रहेको मिलन चोकको प्रहरी बिटमा उक्त गाडी रोक्न आग्रह गरे । मिलन चोकमा खटिएका प्रहरीले उक्त गाडी रोक्यो ।

 

गाडीमा रहेका चालकले टाइगर टोली र बिटमा खटिएका प्रहरीलाई सशस्त्र प्रहरीको बडाभोजका लागि भारतीय बजारबाट सामान ल्याएको बताए । तर, गाडीमा ५३ सेट कुर्ता, २० सेट धोती, सात सेट ब्लाउज, सात सेट अन्डरवेयर, ६ सेट गन्जी, ५० किलो चिनी, दुई पेटी तेल र दुई कट्ठा नरीबल लगायतका अन्य सामान राखिएको थियो । बडाभोजका लागि भनेपछि खाद्यान्नका सामान छोडिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार बडाभोजको कार्यक्रमका लागि भन्दै ल्याइएका कपडा भने बरामद गरिएको छ । ‘गाडीसहित चालक भने फरार भएका थिए,’ उनले भने । सामान बरामद भएपछि सई बिष्ट प्रहरी बिट मिलन चोक पुगेका थिए । उनले भने गाडीमा ल्याइएको लुगाकपडाबारे आफूलाई जानकारी नभएको बताएका थिए ।

 

यता सशस्त्र प्रहरी सुदूरपश्चिमका प्रमुख डिआइजी दीपक अधिकारीले मद्यती तथा सेवा निर्देशनालय गुल्म अत्तरियामा कार्यरत सई बिष्टमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘आफ्ना इञ्चार्जलाई पनि जानकारी नदिएर सई बिष्ट भारत गएका रहेछन्,’ डिआइजी अधिकारीले भने, ‘मैले उनलाई बोलाएर सोधपुछ गरिसकेको छु । बडाभोजकै लागि सामान भए पनि भारत खरिद गर्नुपर्ने थिएन । उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छु ।’

clock बिहिबार १७, असोज २०८१ ११:०२

प्रतिक्रिया