‘हरित धनगढी’ अभियानमा जनस्तरबाट उठ्यो एक करोड ७६ लाख ४५ हजार ६०१ रुपैयाँ

  बुधबार १६, असोज २०८१ ०७:५८

धनगढी । कैलालीको धनगढीलाई सुन्दर र पर्यावरणमैत्री बनाउन धमाधम वृक्षारोपण गरिँदै छ । हरियाली प्रवर्द्धन  कार्यक्रमअन्तर्गत वृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियानअन्तर्गत वृक्षारोपण गरिँदै आएको हो ।

सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको ‘हरित धनगढी’ अभियान कार्यक्रममा पछिल्ला दिनमा नागरिक तथा विभिन्न संघसंस्थाको सहभागिता बढ्दै गएको छ । धनगढी उपमहानगरपालिकाको अगुवाइमा हरियाली प्रवर्द्धन गर्ने र पर्यावरणमैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानमा विभिन्न फलफूललगायतका बिरुवा रोपिने गरिएको छ ।

२०७९ फागुनबाट सुरु गरिएको उपमहानगरपालिकाको यो अभियानमा विभिन्न संघसंस्था, व्यक्तिको पहलमा हजारौँ बिरुवा रोपिएका छन् । हराभरा सहितको सुन्दर र पर्यावरणमैत्री बनाउन धनगढी हरियाली प्रवर्द्धन कार्यक्रम सुरु गरिएको धनगढी उपमहानगरपालिका जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए ।

शाखा प्रमुख जोशीकाअनुसार हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत हालसम्म १८ हजार ४५५ विभिन्न प्रजातिका बिरुवा र फलफूलका बोट रोपिएका छन् । 

अभियानमा आर्थिक वर्ष २०८०/०८१ मा ११ हजार ३७६ बिरुवा तथा चालु आर्थिक वर्षको हालसम्म २५५ फलफूल र दुई हजार ३२४ विभिन्न प्रजातिका बोट रोपिएको छ भने धनगढीमा रहेका ५४ सामुदायिक विद्यालयमा विभिन्न फलफूलका चार हजार ५०० बोट रोपिएको छ । 

रोपिएका बोटमा अम्बा, आँप, बडहर, लिच्ची, जामुन, किम्बु, अमलालगायतका फलफूलका रहेका छन् भने गुलमोहर, नन्दन, धुपी, चाँदनी, खमारी, मेन्दुला, टाँकीलगायत रुख र विभिन्न प्रजातिका फूलका बिरुवा रहेका छन् । 

पर्यावरण संरक्षण गर्न वृक्षारोपण अभियानमा हालसम्म विभिन्न संघसंस्था र जनस्तरबाट गरी एक करोड ७६ लाख ४५ हजार ६०१ रुपैयाँ सहयोग प्राप्त भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

पर्यावरण संरक्षण गर्न वृक्षारोपण अभियानमा सबैभन्दा बढी जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज र सूर्य नेपाल प्रालिले ५०/५० लाख र धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेको शाखा प्रमुख जोशीले जानकारी दिए । 

हराभारा सहितको सुन्दर र पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन गर्न समेत प्रतिबन्ध लगाएको धनगढी उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, हसनपुर डिभोटी होटल अगाडी निसर्ग अस्पतालदेखि दाहाल चोक, मालपोत रोड,  क्याम्पसरोड, मोहना आर्यघाटलगायतका क्षेत्रमा तारबारसहितको वृक्ष कवच ९ट्री गार्ड० लगाएर वृक्षारोपण गरेको छ । 

रोपिएका बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण गर्ने काम उपमहानगरपालिकाले गर्दै आएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए । सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ ।

उनले भने–‘धनगढीलाई सुन्दर र पर्यावरणमैत्री बनाउन उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान भनेर नियमितरुपमा वृक्ष कवच (ट्री गार्ड) सहित वृक्षारोपण र त्यसको संरक्षण गर्ने काम गरिरहेको छ । ट्री–गार्डमा कुनै संघसंस्था तथा ब्यक्तिले आफ्नो कुनै सन्देश र दिवंगत आफन्त सम्मानमा नाम राख्न चाहेमा प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने व्यवस्था गरिएको छ ।’

जनसहभागितामा वृक्षारोपण अभियानलाई प्राथमिकता दिएको उपमहानगरपालिकाले फराकिलो सडकबीचका मिडियन र फुटपाथको दाँयावाँयालगायतका सार्वजनिक ठाउँमा वृक्षारोपण गर्दै आएको छ । यो अभियानमा धनगढीबासीका साथै स्वदेश तथा विदेशमा रहेका अन्य भूभागका नेपालीले पनि साथ दिएका छन् ।

clock बुधबार १६, असोज २०८१ ०७:५८

प्रतिक्रिया