धनगढीको धुरझन्ना र गोदावरीको धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा

  आइतबार १३, असोज २०८१ ०८:५२

धनगढी । खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको हो । 

नदीले धार परिवर्तन गरेपछि पुल जोखिममा परेको स्थानीयले जनाएका छन् । उनीहरूका अनुसार नदीले पूर्वतर्फ कटान गरिरहेको छ । कटानका कारण पूर्वतर्फ झोलुङ्गे पुल जोखिममा परेको छ । बेलैमा तटबन्ध नगरिए पुल कटान हुन सक्ने स्थानीय ज्ञानेन्द्र चौधरीले बताए । 

नदीबाट गिट्टी, बालुवा उत्खनन् गरिएका कारण नदीले धार परिवर्तन गरेको उनको भनाइ छ । पुल कटानको जोखिममा परेपछि स्थानीयले नदीबाट गिट्टी, बालुवा उठाउन दिएका छैनन् ।

सो नदीबाट धनगढी उपमहानगरपालिकाले रोयल्टी उठाउँदै आएको छ । स्थानीय हर्षराज रानाले तटबन्ध नगरिएमा विद्यालय, स्थानीयको खेतबारी कटान हुने बताए । 

धनगढी उपमहानगरपालिकाले तटबन्ध नगरेसम्म नदीबाट गिट्टी, बालुवा उठाउन नदिने स्थानीयको अडान छ । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले कटान नियन्त्रणका लागि जनताको तटबन्धसहित नयाँ योजनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए । 

नदीले गरिरहेको कटान अनुगमन गर्दै उनले झोलुङ्गे पुल जोगाउनका लागि तत्काल नदीको धार परिवर्तन गर्न आवश्यक देखिएको बताए । 

clock आइतबार १३, असोज २०८१ ०८:५२

प्रतिक्रिया