सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

  आइतबार ०६, असोज २०८१ १२:४६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट प्रदेश सदनबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको हो । 

आर्थिक मामिलामन्त्रीले गत सोमबार ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट सदनमा प्रस्तुत गर्नुभएको थियो । शनिबार र आइतबार दुई दिन प्रदेश सभामा बजेटमाथि छलफल गरेर  बहुमतले पारित गरिएको छ । 

यसअघि, बजेटमाथि छलफलमा भाग लिँदै सत्ता र प्रतिपक्षका प्रदेशसभा सदस्यले बजेटको आलोचना गरेका थिए । सत्तापक्षले आलोचनासहित बजेटमा समर्थन जनाउँदा प्रतिपक्षले बजेटप्रति असहमति जनाएका थिए । 

सदनमा उठेको प्रश्नमा जवाफ दिँदै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बिचौलियाको लेनदेन हटाउने प्रयासमा सरकारले प्रयास गरेको बताए । उनले आर्थिक अराजकता रोक्न र सुशासन कायम गर्न प्रदेश सरकारले चार बुँदे अवधारणा घोषणा गरेको उल्लेख गरे । 

“सरकारले बजेट ल्याउँदै गर्दै विभिन्न जिल्लाबाट आएर धनगढीका होटलमा मान्छे बसेकै हुन” उनले भने, “सरकारले चार बुँदे अवधारणा ल्याएपछि उनीहरु आ–आफ्ना जिल्लातर्फ गएका छन् ।”

मन्त्री थापाले बिचौलियाको योजना परेका प्रमाणसहित आएमा त्यस्ता योजना कार्यान्वयन नगर्ने र बिचौलियालाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

नयाँ सरकारको केही प्राथमिकतालाई समावेश गर्दै पुरानै बजेटलाई परिमार्जन गरेर बजेट ल्याएको उनको भनाइ छ । बजेटबारे सदनमा उठेको कुरामा आर्थिक मामिलाको ध्यानाकर्षण भएको र उच्च प्राथमिकता दिने मन्त्री थापाले बताए ।  

clock आइतबार ०६, असोज २०८१ १२:४६

प्रतिक्रिया