माओवादीको लफडा : संसदीय दलको नेता नबनाएपछि प्रदेशसभा जानै छोडे भट्टले

  बुधबार ०२, असोज २०८१ १२:३०

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलभित्रको विवाद प्रदेश सभा बैठकमा पनि देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार मात्रै प्रदेश सभामा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्‍यो । तर, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट संविधान विपरीत रहेको भन्दै बहिस्कार गरे । रोचक के देखियो भने बजेट बहिष्कार गरी हिँडेको माओवादीभित्र पनि एक समूह बैठकमै अनुपस्थित रह्यो । संसदीय दलभित्रको कार्य जिम्मेवारीको विवादले निकास नपाउँदा खगराज भट्ट समूह प्रदेश सभाको बैठकमा पनि उपस्थित हुन छोडेको हो । खगराज भट्ट समूहका पाँच जना सांसद बजेट प्रस्तुत हुँदाको बैठकमा पनि नदेखिएका हुन् । यसअघिको बैठकमा पनि खगराजसँगै उनी खेमाका सांसदहरूको सहभागिता प्रायः हुने गरेको थिएन ।

प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र आन्तरिक किचलोमा अल्झिँदा प्रदेशमा उसको प्रतिपक्षको भूमिका पनि कमजोर देखिएको छ । उनीहरूबिच विवाद मिल्ने भन्दा पनि झन् झन् चुलिँदै आएको हो । खगराज भट्ट खेमाका मानिने सांसद रमेश सिंह धामीले भने, ‘हामीभित्रै समस्या छ । पार्टीभित्र अराजक प्रवृत्ति हाबी छ । नेतृत्वलाई बेवास्ता गरिएको छ । पार्टीभित्रको समस्या प्रदेश सभामा देखिएको हो । पार्टी निर्णय लागू नभएसम्म बैठकमा सहभागी नहुने भन्ने कुरा छ ।’तर संसदीय दलका नेता मानबहादुर धामीले खगराज भट्ट समूहका सांसदप्रति कटाक्ष गरे । खगराज समूह जनताप्रति उत्तरदायी नभएको आरोप लगाउँदै उनले तलब भत्ताका लागि मात्रै हाजिरी लगाउने हो भने पदबाट समेत राजीनामा दिएर बस्दा हुने प्रतिक्रिया दिए ।

दलका नेता धामीले भने, ‘सबैको आ–आफ्नो कर्तव्य हुन्छ । कोही आफ्नो कर्तव्यबाट विमुख हुन्छ भने कसलाई के भन्नु र रु यस्तो हो भने राजीनामा दिएर बसे भइगो नि ।’ गत माघ २२ गते खगराजलाई हटाएर धामीलाई संसदीय दलको नेता बनाइएपछि माओवादी सुदूरपश्चिम प्रदेशमा विवाद हुँदै आएको छ । पछिल्लो पटक माओवादी केन्द्रको गत भदौ १२ र १३ गते धनगढीमा बसेको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीसहितको परामर्श बैठकमा पनि सुदूरपश्चिम संसदीय दलभित्रको विवादले प्रमुख स्थान पाएको थियो । विवाद मिलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलको नेतामा खगराज भट्टलाई तोक्ने गरी निर्देशन दिइएको एकथरी नेताको बुझाइ थियो । तर धामी पक्षका नेताहरूले पार्टी अध्यक्ष प्रचण्डले दलको नेता परिवर्तनबारे कुनै निर्देशन नदिएको जिकिर गर्दै आएका छन् ।

गत माघ २२ मा आफूलाई संसदीय दलको नेताबाट हटाइएपछि भट्टले आफूमाथि अन्याय भएको भन्दै निर्णयको विरोध गर्दै आएका छन् । त्यो बेला माओवादीका सभामुखबाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए भने धामीको पक्षमा ६ सांसद थिए । धामीको पक्षमा रहेका शिव ओली अहिले भट्टको पक्षमा उभिएपछि संसदीय दलभित्र दुवै समूहमा ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद, रमेश सिंह धामी, जानकी पौडेल कुँवर छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी बिक र गीता माल छन् ।

clock बुधबार ०२, असोज २०८१ १२:३०

प्रतिक्रिया