एस.पी.ए कलेजमा एम.बी.एस अध्ययनरत विद्यार्थी धनगढी उपमहानगरका सर्वोत्कृष्ट कर्मचारी

  मङ्गलबार ०१, असोज २०८१ १७:५७

धनगढी । एस.पी.ए कलेजमा एम.बी.एस चौथो सेमेस्टरमा अध्ययनरत छात्र ध्रुब राज जोशी धनगढी उपमहानगरका सर्वोत्कृष्ट  कर्मचारीका रूपमा पुरस्कृत भएका छन् । मङ्गलवार एक समारोहका बिच जोशीलाई नगरपालिकाले 'उत्कृष्ट विद्यालय कर्मचारी पुरष्कार' बाट पुरस्कृत गरेको हो ।

धनगढी उप-महानगरपालिकाको १० औँ स्थापना दिवसको विशेष समारोहमा नेपाल सरकारका उप-प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेयर गोपाल हमालको सहभागितामा ध्रुबलाई नगद पुरस्कार राशि रु एक लाख र सम्मान पत्र प्रदान गरेका हुन् ।

उनले बेहडाबाबा माध्यमिक विद्यालय, धनगढी-१६, घसिटामा लेखापालको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै धनगढी उप-महानगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूमध्ये शैक्षिक सत्र २०८० को कार्य प्रगति र २०८१ साउन सम्मको मूल्याङ्कन गर्दा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

उनले उत्कृष्ट कर्मचारी मध्येबाट पनि उत्कृष्ट भएका कारण एक लाख नगद प्राप्त गरेका हुन भने अन्य उत्कृष्ट कर्मचारीहरू ले नगद पचास हजार पुरस्कार राशि प्राप्त गरेका छन् ।

सो अवसरमा ध्रुबले साँच्चिकै यो सम्मानले मेहनतको उच्च कदर भएको महसुस हुनुका साथै थप काम गर्ने ऊर्जा जागरित भएको र आगामी दिनहरूमा अझै ऊर्जावान् भई काम गर्ने बताउँदै उप-महानगरपालिका परिवार प्रति आभार प्रकट गरे ।

यस्तै, ध्रुब अध्ययनरत एस.पी.ए कलेजले उनको यस सफलताले कलेजलाई गौरवान्वित बनाएको जनाउँदै हार्दिक बधाई सहित उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

धनगढी उप-महानगरपालिकाले आफ्नो १० औँ स्थापना दिवसको विशेष समारोहमा विभिन्न विधामा संघ संस्था, विद्यार्थी तथा अन्य उत्कृष्ट कर्मचारीहरू लाई सम्मान पत्र तथा नगद पुरस्कार राशि सहित सम्मान गरेको छ ।

 

clock मङ्गलबार ०१, असोज २०८१ १७:५७

प्रतिक्रिया