मेयर हमालले दिए मन्त्री सिंहलाई ‘स्याटेलाईट’ सिटी निर्माणसहित पाँच बुँदे ज्ञापन

  मङ्गलबार ०१, असोज २०८१ १७:५२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन्। धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसको प्रमुख अतिथिसमेत रहेका मन्त्री सिंहलाई नगर प्रमुख हमालले पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

नगर प्रमुख हमालले धनगढीलाई ‘स्याटेलाईट’ सिटी अर्थात् बस्ती विकासको योजनाका बजेट विनियोजन, धनगढीमा नयाँ बसपार्क निर्माणका लागि बजेट, धनगढी उपमहानगरपालिकाको १ देखि १९ वडासम्मका ८५ किलोमिटर रिङरोड निर्माणका लागि बजेट, धनगढी–११ मा जग्गा विकास कार्यक्रमका लागि बजेट र धनगढी–८ मा निर्माण भएको सिटी हल सञ्चालनका आवश्यक पूर्वाधार जडानका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

धनगढीमा २०७९ सालमा निर्माणको काम पूरा भएको सिटी हलमा आवश्यक पूर्वाधारको अभावले सञ्चालनमा आएको छैन। नगर प्रमुख हमालले उपकरण तथा पूर्वाधार जडान नभएकाले सिटी हल हस्तान्तरण हुन बाँकी रहेको बताएका थिए। उनले सहरी विकासले निर्माण गरेको सिटी हलमा उपकरण जडान नभएकाले हस्तान्तरण र सञ्चालन गर्न नसकिएको बताएका थिए। उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले ११ औँ स्थापना दिवस नेपाल सरकारको लागनीमा निर्माण गरिएको सिटी हलमा सञ्चालन गर्न सकिने बनाउने प्रतिबद्धता दिएका छन्। उनले धनगढी सिटी हलमा आवश्यक उपकरण जडान तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन्।

धनगढी उपमहानगरपालिका–३ मा नयाँ बसपार्क निर्माणका लागि विस्तृत योजना प्रतिवेदन डिपीआर तयार भएको छ। एक लाख जनसङ्ख्या लाभान्वित हुने बसपार्क निर्माणका लागि सङ्घीय सरकारले जग्गाको भोगाधिकार दिएको छैन। धनगढी उपमहानगरपालिकाले जग्गाको भोगाधिकार माग्दै फाइल पठाएको छ।

धनगढीमा ९५ किलोमिटर रिङरोडमा १० किलोमिटरको काम भएको उपमहानगरपालिकाले बताएको छ। धनगढी उपमहानगरपालिकाले एक लाख ५० हजार जनसङ्ख्या लाभान्वित हुने ८५ किलोमिटर रिङरोडका लागि बजेट विनियोजन गर्न आग्रह गरेको हो।

clock मङ्गलबार ०१, असोज २०८१ १७:५२

प्रतिक्रिया