चाडपर्ब सुरु भएसगैं खाली भएका गाउँबस्ती भरिँदै

  मङ्गलबार ०१, असोज २०८१ ०९:०३

बाजुरा । हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् । रोजगारीका लागि भारत गएका युवा दसैँतिहार मनाउन गाउँ फर्किन थालेपछि हिउँदमा खाली भएका यहाँका गाउँबस्ती अहिले भरिन थालेका हुन् । 

रोजगारी गर्न हिउँदमा भारत गएर त्यहाँबाट केही कमाइ गरी दसैँतिहार मनाउन गाउँ आएको खप्तड छेडेदह गाउँपालिकाका–१ का रामबहादुर रोकायाले बताए ।

उनले भने, “लामो समय गाउँमै बसेर केही गरौँ भन्ने सोच छ तर यहाँ सोचे जस्तो कुनै अवसर मिल्दैन । त्यसैले दसैँमा गाउँ आए पनि फेरि घरपरिवार पाल्नकै लागि भारतमा नोकरी गर्न जान्छु ।” 

बाजुराका हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश युवकयुवती रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।

कात्तिक, मङ्सिरमा गहुँ र असारमा धान, कोदो लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि उनीहरू कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।   

clock मङ्गलबार ०१, असोज २०८१ ०९:०३

प्रतिक्रिया