कैलालीको टीकापुरमा नालामा एक बालक मृत फेला, धनगढीमा डुबेर एक जना बेपत्ता

  आइतबार ३०, भदौ २०८१ १३:४४

धनगढी । कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्षीय छोरा आरबको शव नालामा भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दा आज घर नजिकै नालामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

यसैगरी, मोहना नदीमा हिजो डुबेर बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१० का २५ वर्षीय विशाल राना अझै फेला पर्न सकेका छैनन् । बनघटी घाटमा नदी तर्ने क्रममा राना डुबेका जनाइएको छ । नगर प्रहरीसहित सुरक्षाकर्मीको टोलीले हिजोदेखि रानाको खोजीकार्य जारी राखेको छ । बेपत्ता राना अहिलेसम्म नभेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । 

यस्तै, भजनी नगरपालिका–८ गोडचौराका अन्दाजी ५५ वर्षीय जयराम डङ्गौराको पानीमा हिंड्ने क्रममा लडेर ज्यान गएको छ । पसलबाट घर फर्कने क्रममा पानीमा हिंडिरहेको बेला डङ्गौरा लडेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

clock आइतबार ३०, भदौ २०८१ १३:४४

प्रतिक्रिया