एनपिएलका लागि आठ मार्की खेलाडी सार्वजनिक

  शनिबार २९, भदौ २०८१ ०६:५२

काठमाडौँ । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसँगै दुई ओपनर, दुई अलराउन्डर र तीन बलर अटाएका छन्।

रोहितबाहेक ओपनरद्वय कुशल भुर्तेल तथा आसिफ शेख, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी तथा कुशल मल्ल, बलरहरू लेग स्पिनर सन्दीप लामिछाने तथा तीव्र गतिका सोमपाल कामी र करण केसी मार्की खेलाडी छन्।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यी आठ मार्की खेलाडी प्रदर्शन र अनुभवको आधारमा छनोट गरिएको हो। तर, आठ खेलाडी आबद्ध हुने टोलीको भने शनिबार टुङ्गो लगाइने उनले जानकारी दिए। यी आठ टोलीले समान एक मार्की खेलाडीलाई आआफ्नो टोलीमा आबद्ध गर्न पाउनेछन्।

क्यानले दुई वर्षअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सहकार्य गर्दै नेपाल ट्वान्टी-२० लिग सुरु गरेको थियो। तर, म्याच फिक्सिङको विवादमा पर्न थालेपछि भारतीय कम्पनी बीचमै सम्पर्कविहीन बन्यो। त्यसैले क्यान आफैंले लिग पूरा गरेको थियो। यसपल्ट भने क्यान आफैंले पहिलोपल्ट फ्रेन्चाइजी प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ। टोलीले नेपालका विभिन्न आठ सहर र स्थानको प्रतिनिधित्व गर्दै लिगमा सहभागिता जनाउनेछन्। यसका लागि क्यानले १६ करोड ८८ लाख ९३ हजार २३१ रूपैयाँमा अक्सनमार्फत आठ टोली बिक्री गरिसकेको छ।

प्रतियोगितामा काठमाडौं, पोखरा, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिमले सहभागिता जनाउँदै छन्। लिग खेल्ने टोली र मार्की खेलाडी घोषणा भएसँगै अब क्यानले अक्सनमार्फ खेलाडी अनुबन्ध गर्ने छ। अक्सनको मिति भने अहिलेसम्म घोषणा गरिएको छैन।

clock शनिबार २९, भदौ २०८१ ०६:५२

प्रतिक्रिया