कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारियो

  शुक्रबार २८, भदौ २०८१ १५:३९

धनगढी । बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा बाढी आएपछि जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार जानकी गाउँपालिका–४ स्थित १५ परिवारका ३४ जनालाई सुरक्षित घरमा सारिएको छ । यसैगरी, जानकी गाउँपालिका–७ स्थित १७ परिवारका ९४ जनालाई पनि सुरक्षित घरमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

 त्यस्तै, जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई जनहित सामुदायिक वनको भवनमा सारिएको छ । पछिल्लो छ घण्टामा कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएको जल तथा मौसमविज्ञान विभागले जानकारी दिएको छ । 

वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्दो क्रममा छ । कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । यसैगरी, मोहना, खुटिया, कान्द्रा, घुरहा, कटैनी, पथरैया नदीमा जलसतह बढिरहेको र खतरा आसपास पुग्ने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभागले आग्रह गरेको छ ।

clock शुक्रबार २८, भदौ २०८१ १५:३९

प्रतिक्रिया