कैलारीका सलिफा र सोनु १० दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा

  बिहिबार २७, भदौ २०८१ ०९:५९

धनगढी । भारत उत्तर प्रदेशको चन्दनचौकीमा काम गर्न गएका दुई नेपाली मजदुर अनाहकमा १० दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा छन् । कैलालीको कैलारी गाउँपालिका– ३, शिवरत्नपुरका ६६ वर्षीय सलिफा डगौरा चौधरी र २८ वर्षीय सोनु गिरीलाई भारतीय वन विभागले पक्राउ गरी हिरासतमा राखेको हो ।

दुवैजना १७ भदौमा गाउँबाट नजिकै रहेको चन्दनचौकीस्थित एक व्यापारी भक्ता भनिनेको मिठाई पसलको छानामा टिन जस्तापाता लगाउन गएका थिए । दिनको पाँच सय रुपैयाँ ज्याला दिने भनेर टिन लगाउनका लागि भक्ताले दुवैजनालाई बोलाएर लगेका थिए । उनीहरू पक्राउ परेको खबरपछि परिवारका सदस्य र केही स्थानीय चन्दनचौकीस्थित वन विभागको कार्यालय पुगेका थिए । तर, वन कर्मचारीले पक्राउ गर्नुको कारणबारे केही नबताएको सोनुकी श्रीमती पुनम चौधरीले बताइन् ।

‘किन पक्राउ गरेको भनेर वनका कर्मचारीलाई सोध्दा कारण बताएनन् । पैसा दिएर छुटाएर लैजाऊ भने, अरू कुरै गर्न मानेनन्,’ पुनमले भनिन्, ‘पक्राउ परेकालाई भेट्नसमेत दिएनन् ।’ उनका अनुसार सुरुमा एकजनाको दुई लाख रुपैयाँ भारु जरिवाना मागेका थिए । पछि एक–एक लाख रुपैयाँ बुझाउन भने पनि आफूहरूले रकम तिर्न नसकेको उनले बताइन् ।

सलिफाकी बुहारी टीकाका अनुसार भारतीय वनरक्षक शिवचरण रानाले पैसा मागेका हुन् । चन्दनचौकी भारतीय दुधुवा निकुञ्जको क्षेत्रमा पर्छ । वन क्षेत्रमा पर्ने ठाउँमा घर बनाउन आएको भन्दै पक्राउ गरेको चन्दनचौकीका स्थानीयबाट बुझिएको शिवरत्नपुरका भल्मन्सा दहिराम चौधरीले बताए । मजदुरीमा काम गर्न गएका मान्छेलाई काठसहित समातेको भनेर फसाउन खोजिएको उनले बताए । ‘पक्राउ गर्नुको कारण भनेका छैनन्, तर काठसहित समातेको भनेर मुद्दा बनाएको भन्ने सुनिएको छ । भारतीय वनकर्मीले काठ तथा वन्यजन्तु तस्करी गरेकोलगायत आरोप लगाएर सीमावर्ती क्षेत्रमा नेपालीलाई पटक–पटक दुस्ख दिने गरेको उनको भनाइ छ ।

कैलालीमा नेपाल–भारत सिमानामा मोहना नदी बग्छ । कैलारीमा भने शिवरत्नपुर, मोहनपुर र हौसलपुर मोहनापारि पर्छन् । स्थानीयका अनुसार शिवरत्नपुरमा ७५ परिवारको बसोवास छ । कैलारी– ३ का वडाध्यक्ष सन्तराम चौधरीले काम गर्न गएका नेपाली पक्राउ परेकोबारे गाउँपालिकामै रहेको सशस्त्र प्रहरीको प्रस्तावित गुल्मलाई जानकारी गराइएको बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने शिवरत्नपुरका दुई नेपालीलाई भारतीय वन विभागले पक्राउ गरेकोबारे आफूलाई जानकारी नआएको बताए । उनले आफूले यसबारे बुझ्ने बताए । शिवरत्नपुरबाट चन्दनचौकी करिब दुई किलोमिटरको दूरीमा पर्छ । शिवरत्नपुर गाउँ र भारतीय दुधुवा नेसनल पार्क जोडिएको छ । भारतीय वन छेउछाउमा शिवरत्नपुरका स्थानीयले गाईवस्तु चराउने गर्छन् । त्यसबापत गाउँलेले वन कर्मचारीलाई बर्सेनि प्रतिघर चार सय रुपैयाँ उठाएर दिने गरेका थिए । भारतीय वन कर्मचारीले अनावश्यक पक्राउ गरेर दुस्ख दिन थालेपछि गत वर्षबाट भने स्थानीयले पैसा दिन छोडेका थिए । पैसा दिन छोडेपछि भारतीयको ज्यादती बढेको स्थानीयको गुनासो छ ।

गत वर्ष बर्खामा दुधुवा निकुञ्जको नालामा बल्छी लगाएर माछा मार्ने क्रममा शिवरत्नपुरका रामप्रसाद चौधरीलाई भारतीय वनका कर्मचारीले पक्राउ गरेका थिए । गाउँका भल्मन्सा चौधरीका अनुसार दुई लाख ९० हजार भारु जरिवाना तिरेपछि भारतीय वन विभागले उनलाई छोडेको थियो । सीमामा बस्ने नेपालीलाई भारतीय वनकर्मीले अनावश्यक दुस्ख दिँदै आएको कैलारी– ३ का वडाध्यक्ष सन्तराम चौधरीले बताए ।

clock बिहिबार २७, भदौ २०८१ ०९:५९

प्रतिक्रिया