पल शाहले आफ्नै बलात्कार मुद्दासँग जोडेर ल्याए ‘म्युजिक भिडिओ’

  बिहिबार २८, बैशाख २०८० १८:३६

काठमाडौं । पल शाहले आफ्नै बलात्कार मुद्दासँग जोडेर ‘म्युजिक भिडिओ’ ल्याएका छन्। उनी जेलबाट छुटेपछि अभिनय गरेको पहिलो ‘म्युजिक भिडिओ’ सार्वजनिक भएको हो। गीत पुरानै  हो। तर  भिडिओमा आफ्नो मुद्दा जोडिएको छ। 

‘तिमीलाई हेर्ने बानी र्पयो‘’ बोलको गीतको फिमेल भर्सनमा पलले अभिनय गरेका छन्। प्रेमिल भावमा रचिएको गीतलार्ई भिडियोमा ट्वीस्ट गर्दै पलको बलात्कार मुद्दासँग जोडिएको छ। पक्राउ परेपछि पललाई प्रहरीले अदालत लैजाँदाको दृष्य जस्ताको तस्तै उतार्न खोजिएको छ। उक्त दृष्यमा पल त्यही पहिरनमा छन, जुन पहिरनमा उनी त्यसबेला अदालत लैजाँदा थिए।

पल पक्राउ परेपछि आमा र बहिनी प्रहरी कार्यालय पुगेको दृष्यबाट भिडियो सुरु गरिएको छ। त्यसपछि भिडियोमा सबै उनकै वास्तविक जीवनका घटनाक्रमहरु देखाइएको छ। पलको प्रेमिकाको भूमिकामा सनिशा भट्टराईले अभिनय गरेकी छन्।

पल जेलबाट निस्किएपछि आफन्त र शुभचिन्तकले फूलमाला लगाएर स्वागत गरेको, आमाले आरती उतारेको दृष्यहरु पनि भिडियोमा देखिन्छ। पलको रिहाइका लागि मस्जिददेखि गुम्बासम्म प्रार्थना गरिएको पनि देखाइएको छ। भिडियोको निर्देशन पल शाह आफैंले गरेका हुन्। 

पलको बुवाको भूमिकामा प्रकाश अधिकारी, आमाको भूमिकामा सुर्यमाला खनाल र बहिनीको भूमिकामा प्रिन्सु तिवारीले अभिनय गरेका छन्। ‘तिमीलाई हेर्ने बानी पर्यौ’ गीतको पुरुष भर्सन पुष्पन प्रधानले गाएका थिए। उक्त गीतमा पनि पलले नै अभिनय गरेका थिए। उक्त गीतले ८३ लाखभन्दा बढी भ्यूज पाएको छ। यी दुवै गीत पलले आफ्नै नामको च्यानलबाट रिलिज गरेका छन्। 

clock बिहिबार २८, बैशाख २०८० १८:३६

प्रतिक्रिया