धनगढीमा चालकमाथि हतियार प्रहार प्रकरणः तीन जना पक्राउ, एक जना फरार

  आइतबार २३, भदौ २०८१ १६:४९

धनगढी । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सह–चालकहरुमाथि धारिलो हतियार (खुँडा) प्रहार गरेर घाइते बनाएको छ। हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक अनिल देउवा घाइते भएका छन्। दुबै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। 

घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्यांकर पार्किङको विषयमा दुई पक्षबिच विवाद हुँदा आक्रमण र तोडफोड भएको हो। दुई जनालाई राति नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। एक जनालाई भने आज मात्र पक्राउ गरिएको छ। पहिचान भएका एक जना फरार छन्। घटनामा केही ट्यांकरहरुमा पनि तोडफोड गरिएको छ। आक्रमणबाट ट्यांकरको अघिल्लो भागको सिसा फुटेको छ।

शनिबार राति धनगढी–२ रोड हाउस क्याफे नजिकै ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३२७ नम्बर बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय ट्याङ्कर चालक हरेन्द्र देउवा र सह–चालक गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवामाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

चालक हरेन्द्रको दायाँ हातको नाडी र बायाँ खुट्टामा चोट लागेको छ भने सह–चालक अनिलको बाँया हात र नाडीमा चोट लागेको छ। ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नम्बरको ट्याङ्करलाई पार्किङ गरिराखेको अवस्थामा ढुंगा प्रहार गर्दा अगाडीको सिसा फुटेको छ। घटनाको जानकारीपछि प्रहरी चौकी त्रिनगरबाट प्रहरी नायव निरीक्षक शैलेन्द्रबहादुर चन्दको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको थियो।

clock आइतबार २३, भदौ २०८१ १६:४९

प्रतिक्रिया