धनगढीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ हुँदै

  आइतबार २३, भदौ २०८१ १३:५७

धनगढी । कैलालीको धनगढीमा मानव सेवा आश्रमले महायज्ञको आयोजना गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–१५ मा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना हुने भएको हो। मानव सेवा आश्रमले धनगढीमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २३ देखि २९ गतेसम्म महायज्ञको आयोजना गर्न लागेको बताएको छ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले धनगढीमा आश्रमको भवन निर्माणका लागि रकम सङ्कलन गर्न महायज्ञको आयोजना गर्न लागिएको बताए। भागवत भाष्कर कमल नयन गौतमले महायज्ञमा कथा बाचन गर्ने भएका छन्। बिहान साढे ४ बजेदेखि ७ बजेसम्म सात दिन महायज्ञ पंडालभित्र योग शिविर सञ्चालन हुनेछ।

विद्यार्थीहरूलाई बिहान ११ देखि २ बजेसम्म मानसिक स्वास्थ्य, दुव्र्यसन सम्बन्धी सचेतना एवं उत्प्रेरणामूलक कार्यक्रम रहने आयोजकले बताएको छ। बिहान ११ देखि ४ बजेसम्म सङ्गीतमय कथा प्रवचनको कार्यक्रम रहनेछ। साँझ ७ देखि ९ बजेटसम्म विभिन्न सचेतना मूलक श्रव्यदृश्य कार्यक्रम र भनजकिर्तनको कार्यक्रम हुनेछ।

महायज्ञमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहहरु, संघरसंस्था, नागरिक समाजसँगै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय व्यक्तिलाई कार्यक्रममा निमन्त्रणा गरिने आयोजकले बताएको छ। धनगढीमा २०७५ सालमा मानव सेवा आश्रमले ११ औँ शाखा विस्तार गरेको थियो।

आश्रमले धनगढी उपमहानगरपालिका–१५ मा ३७ करोडको लागतमा तीन ठुला संरचनाहरू निर्माण गर्ने योजना बनाएको अध्यक्ष अधिकारीले बताए। उनले २ करोड खर्चेर भौतिक संरचना निर्माणको काम पूरा भएको बताए। बाँकी रकमको जोहो गर्न महायज्ञको आयोजना गर्न लागिएको उनले बताए। 
अभिभावक परिवारको संयोजकमा पनेरु
मानव सेवा आश्रम धनगढी शाखाले अभिभावक परिवार गठन गरेको छ। अभिभावक परिवारको संयोजकमा सिद्धराज पनेरु चयन भएका छन्। सह–संयोजकमा कमानसिंह धामी र अम्बिका भण्डारी चयन भएका छन्। जनसम्पर्क समिति एवं मासिक सहयोग प्रवद्र्धन समितिको संयोजकमा मदन कुँवर, भोजन सेवा प्रवद्र्धनमा पुस्कर अवस्थी, जिन्सी सामाग्री सहयोगमा तिलक चन्द खतिवडा, अक्षयकोष श्रीवृद्धि समितिको संयोजकमा श्यामराज श्रेष्ठ, उद्धार र पारिवारिक पुनः मिलनमा कमलसिंह धामी, औषधी उपचार समन्वय समितिमा डाक्टर प्रभात सापकोटा, भवन निर्माण समितिमा राजेन्द्रराज पन्त चयन भएका छन्।

त्यस्तै स्वयंसेवक व्यवस्थापन तथा परिचालन समितिमा कमल ढाँट, तीर्थयात्रा एवं मनोरञ्जन कार्यक्रम आयोजना समितिमा अम्बिका भण्डारी, मुठ्ठी दान सङ्कलन तथा दान बाकस व्यवस्थापन समितिमा धर्मराज कोइराला चयन भएका छन्।

clock आइतबार २३, भदौ २०८१ १३:५७

प्रतिक्रिया