भारतीय राजदूत पुगे दार्चुला, निर्माणाधीन मोटरेबल पुलको अवलोकन

  शुक्रबार २१, भदौ २०८१ १७:२०

दार्चुला । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलास्थित असिगाडामा निर्माणाधीन नेपाल–भारत जोड्ने मोटरेबल पुलको निरीक्षण गरेका छन् । दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–८ असिगाडामा र भारत पिथौरागढ जिल्लाको छारछुम जोड्ने मोटरेवल पुलको राजदूत श्रीवास्तवले स्थलगत निरीक्षण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा टनकपुरपछि दार्चुलामा भारतसित दोस्रो पुल निर्माण भईरहेको छ । भारतसितको सीमामा पहाडी जिल्लामा भने पहिलो मोटरेबल पुल हो । पुल निरीक्षणका क्रममा राजदूत श्रीस्तावले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

पुलको दुईटै साईडमा ट्राफिक जाँचमा समस्या आउने गरी संरचना र पहुँच मार्ग निर्माण गर्न दुवै देशका प्राविधिकको समन्वय हुनुपर्ने बताएका छन् । भारतीय पक्षले निर्माण गरिरहेको एक सय १० मिटर लामो मोटरेवल पुलको काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ । ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण थालिएको हो । पुल निर्माण सम्पन्न भएपछि सरकारी र नागरिकस्तरमा दुई देशको सम्बन्ध थप बलियो हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने स्थानीयले बताएका छन् ।

जिल्लामै पहिलो पटक महाकाली नदीमा पक्की पुल निर्माणले स्थानीयवासी खुशी भएका छन् । द्विपक्षीय निर्माण सम्झौतानुसार यो पुलको निर्माण कार्य यसै वर्ष सकिनुपर्ने हो ।

भारतीय लगानीमा बनेका संरचना शिलान्यास, उद्घाटन र अनुगमनका लागि राजदूत वा राजदूतावासका प्रतिनिधि आउने चलन रहेको छ । राजदूत श्रीवास्तव नेतृत्वको टोलीले दार्चुलामा बनेका पुल र विद्यालय अनुगमन गर्ने कार्यक्रममा रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

clock शुक्रबार २१, भदौ २०८१ १७:२०

प्रतिक्रिया