निर्मलालाई न्याय, गृहमन्त्रीका गफ मात्रै !

  शुक्रबार २१, भदौ २०८१ ०८:३३

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भइसकेको छ । बितेको ६ वर्षमा मुलुकमा पटक(पटक सरकार र गृहमन्त्री बदलिए । सबैले निर्मला पन्तको हत्यारा पत्ता लगाउने आश्वासन पनि दिए तर गृहमन्त्रीहरू ‘गफ’मै सीमित हुँदा निर्मलाका परिवार र आफन्तले न्यायको आस मार्न थालिसकेका छन् ।

२०७५ साल साउन १० गते साथीको घर जान्छु भनी हराएकी निर्मलाको शव भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । त्यसयता निर्मला पन्तका हत्यारा पत्ता लगाउन दर्जनौँ आन्दोलन र अभियान भएका छन् । हरेक नयाँ गृहमन्त्रीले निर्मलालाई न्याय दिलाउने बताए पनि दोषी अझै पत्ता लागेको छैन । बिहीबार मात्रै गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेर निर्मला प्रकरणको सूक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता जनाउनुभयो । आफ्नै गृहजिल्लाको अनिर्णीत निर्मला प्रकरणलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता गृहमन्त्रीले गर्नु स्वाभाविक भए पनि विगतमा झैँ ‘गृहमन्त्रीले गफ दिने, काम नहुने’ हो भने निर्मलाका परिवारले न्याय नपाउन सक्छन् ।

टेलिभिजन पत्रकार छँदा रवि लामिछानेले निर्मला प्रकरणमा ‘चर्को खबरदारी’ गर्नुभएकै थियो । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा दुई पटकसम्म गृहमन्त्री बन्ने अवसर पाउँदा पनि उहाँले निर्मला प्रकरणमा दोषी पत्ता लगाउन सक्नुभएन । काम नगरे पनि गृहमन्त्री रहँदा लामिछानेका गफ कम थिएनन् । उहाँले पहिलोपटक गृहमन्त्री हुँदा नै पहिलो निर्णय ‘निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ भनी गर्नुभएको थियो । निर्णय गरे पनि काम नगर्दा निर्मला प्रकरणमा न्याय पाउने आशा गरेका परिवारजन पुनः निराश बन्न पुगे । दोस्रोपटक चार महिना गृहमन्त्री हुँदा पनि उहाँले निर्मला प्रकरणमा नयाँ काम गर्न सक्नुभएन । सरकारबाट बाहिरिने बेला उहाँले निर्मला हत्या प्रकरणको निष्कर्षनजिक रहेको बताउनुभएको थियो । आफूले चुपचाप गरेको कामको नतिजा आउने बेलामा सरकार छाड्नुपरेको भनाइ लामिछानेको थियो । तर, नयाँ सरकार बनेको दुई महिना हुनै लाग्दा पनि निर्मला प्रकरणमा प्रहरीले नयाँ प्रगति देखाउन सकेको छैन ।

बितेका दशकहरूमा सबैभन्दा सार्वजनिक चासो, सरोकार र आन्दोलन जोडिएको विषय नै निर्मला हत्याको विषय हो । दर्जनौँ प्रहरी अधिकारीहरू कारबाहीमा पर्नेदेखि विभिन्न छानविन समिति बन्ने सम्मका काम नभएका होइनन् । यद्यपि, कुनै पनि प्रयत्नले प्रतिफल दिन सकेको छैन । राजनीतिक नेतृत्वले लोकप्रियताका लागि किशोरी बलात्कार जस्तो गम्भीर अपराधलाई उपयोग गर्न खोज्दा अनुसन्धान गिजोलिन पुगेको थियो ।

६ वर्षअघि निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा नेकपा नेतृत्वको सरकार थियो । प्रधानमन्त्री हुनुहुन्थ्यो, केपी शर्मा ओली । हाल नेकपा एमालेका उपाध्यक्ष रहनुभएका रामबहादुर थापा त्यतिबेला गृहमन्त्री हुनुहुन्थ्यो । त्यसपश्चात् शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री हुनुभयो । खाँणले पनि संसद्देखि सार्वजनिक मञ्चहरूमा पटक–पटक निर्मला हत्या प्रकरणको गम्भीर अनुसन्धान भइरहेको ‘गफ’ दिनुभयो । काममा नतिजा देखिएन । खाँणपछि रवि लामिछाने दुईपटक, नारायणकाजी श्रेष्ठ एकपटक र अहिले रमेश लेखक गृहमन्त्री बन्नुभएको छ । गृहमन्त्री रहँदा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि बारम्बार निर्मला प्रकरणमा परिणाम दिने दाबी गर्नुभए पनि नतिजामा देखिएन ।

अहिले कञ्चनपुरकै कांग्रेस नेता रमेश लेखक गृहमन्त्री हुँदा धेरैले यो प्रकरण टुंगोमा पुग्ने अपेक्षा गरेका छन् । यद्यपि, गृहमन्त्री लेखकले पनि सो प्रकरणको छानविनका लागि प्रभावकारी प्रयत्न गरेको पाइँदैन । गृहमन्त्री मात्रै होइन यो प्रकरणयता नेपाल प्रहरीमा पाँचजना आइजिपी भइसकेका छन् । सबैजसो आइजिपीले निर्मला प्रकरणलाई प्राथमिकतामा राखेको बताए पनि अहिलेसम्म दोषी को हो रु भन्ने टुंगो लाग्न सकेको छैन ।

निमुखाले न्याय पाउने विषय नेपालमा सधैँ जटिल बन्ने गरेको छ । सार्वजनिक खपतका लागि नेताहरूले एजेण्डा बनाउने तर सत्तामा रहँदा परिणाम निकाल्ने गरी काम नगर्ने प्रवृत्ति अझै सुध्रिसकेको छैन । यसपटक फेरि गृहमन्त्री लेखक आफैँले कञ्चनपुर पुगेर निर्मला प्रकरणमा सूक्ष्म अनुसन्धान हुने भनेर आशा बढाउने काम गर्नुभएको छ । आफ्नै गृहजिल्लाकी चेलीको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ पत्ता लगाउन गृहमन्त्री लेखक नचुकून् । निर्मलाको न्यायबारे गृहमन्त्रीले गफ होइन काम गरून् ।

अनुसन्धान जारी छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या र बलात्कार घटनालाई आफूले गम्भीर रूपमा लिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी रहेको बताउनुभएको हो ।

‘निर्मला प्रकरणको अनुसन्धान जारी छ । थप गम्भीरता र थप सूक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइन्छ,’ लेखकले भन्नुभयो, ‘म कसैलाई दोष दिने पक्षमा छैन । अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ ।’ निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

clock शुक्रबार २१, भदौ २०८१ ०८:३३

प्रतिक्रिया