आज हरितालिका तिज मनाइँदै

  शुक्रबार २१, भदौ २०८१ ०८:२९

धनगढी । शुक्रबार भाद्र शुक्ल तृतिया। नारीहरूले आज हरितालिका तिज मनाउँदैछन्। आजको दिन महिलाहरूले निराहार (पानीसमेत नखाइ) व्रत गर्ने र भगवान् शिवको पूर्जा—अर्चना र उपासना गर्छन्। तिजमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण र पतिपत्नीको दीर्घायु प्राप्ति हुने धार्मिक विश्वास छ ।   

आजको दिन महिला मात्रै व्रत बस्छन् भन्ने छैन। महिला, पुरूष दुवै जना व्रत बस्न सक्ने र महादेवको उपासना र अनुष्ठान गर्न सक्ने धार्मिक मान्यता छ। व्रतालु महिला, पुरूषहरू महादेवका मन्दिरका अतिरिक्त विभिन्न देवस्थल गइ पूजाआराधना गर्ने परम्परा छ। पूजाअर्चनापछि आपसमा भेला भएर नाचगान गर्नेगर्छन्। 

तिजको अघिल्लो दिन रात्रि दर खाने प्रचलन छ। निराहार व्रत बस्ने अघिल्लो दिन छोरी, दिदीबहिनीहरूलाई माइतीमा बोलाइ दर खुवाउने प्रचलन छ। सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत आरम्भ भएको पौराणिक मान्यता छ।

निराहार व्रत बस्न नसक्ने फलफूल खाएर महादेवको उपासना गर्नेगर्छन्। कसैकसैले आजै बेलुका व्रत उद्यापन  (समापन) गर्छन् भने कसैले शनिबार बिहान मात्रै महादेवको पूजा—अर्चना गरेर मात्रै व्रत टुंग्याउने पनि गर्छन्।

शनिबार गणेश चौथी तिथि हो।। भोलिको दिन भगवान् गणेशको आराधना हुन्छ। त्यस्तै आइतबार ऋषिपञ्चमी भएकाले महिलाहरूले उक्त दिन नदी, तलाउ, कुन्डमा गएर विधिपूर्वक नुहाइधुवाइ गर्ने र अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गर्छन्। 

clock शुक्रबार २१, भदौ २०८१ ०८:२९

प्रतिक्रिया