विष्णु माझी तीज गीत ‘आइन आमा यो तीजमा’ करोड क्लबमा

  सोमबार १७, भदौ २०८१ २०:५०

काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा‘’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको तीज गीतमा पर्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको नौ दिनमा उक्त गीतको म्यूजिक भिडियोलाई एक करोडभन्दा बढी पटक हेरिएको छ ।

‘सपना म्यूजिक इन्ड्रष्टिज’ युट्युब च्यानलबाट यही भदौ ८ गते गीत सार्वजनिक गरिएको थियो । तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमाथि झण्डै २५ हजारले प्रशंसायुक्त टिप्पणी गरेका छन् ।

तीज गीतका नाममा विकृतियुक्त गीत मौलाइरहेका बेला गायिका माझीको उक्त मौलिक शैलीको तीज गीतले चर्चा पाएको हो । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएका हुन् ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएको थियो ।

यस वर्ष दर्जन बढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीत प्रेमीले विरोध समेत जनाए । केही रेडियोकर्मीले आफ्ना कार्यक्रममा त्यस्ता गीत नबजाउने घोषणा समेत गरे ।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीत सङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जकरकलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पहिलेका तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदिलाई मुखरित गर्ने गरेकामा अहिलेका तीज गीत भड्किला बन्दै गएकामा लोकसङ्गीत प्रेमीहरु चिन्तित छन् ।

गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिएको छ। गीतको म्यूजिक भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ ।

तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा’ पनि त्यो बेला चर्चित बनेको थियो । उक्त गीतलाई हालसम्म युट्युबमा पाँच करोड बढी पटक सुनिएको÷हेरिएको छ ।

clock सोमबार १७, भदौ २०८१ २०:५०

प्रतिक्रिया