शैक्षिक गुणस्तर सुधार्न कृषि बिकास बैंकले गर्यो सहयोग
धनगढी । शैक्षिक गुणस्तर सुधार्न कृषि बिकास बैंकले सहयोग गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषमा बैंकको धनगढी शाखाले आज आर्थिक सहयोग गरेको हो।
विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले आइतवार पाँच लाख रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको जनाएको छ।
धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ९५ जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द्र गुरुङले बताए।
धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ। ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो।कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्नेहरूको संख्या बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया