आइएमई समूहले उद्योग खोल्ने चुन ढुङ्गा उत्खननको तयारी

  आइतबार २०, साउन २०८१ १०:४३

धनगढी । सिमेन्ट उद्योग खोल्न आइएमई समूहले खानी तथा भूगर्भ विभागसँग चुन ढुङ्गा उत्खनन गर्नका लागि अनुमति माग गरेको छ । उत्खननको अनुमति प्राप्त भएपछि यथाशक्य उद्योग स्थापना गर्ने तयारी थालिएको छ । केबुलकार, वित्तीय संस्था, होटेल तथा सेवा क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले विदेशी लगानी भित्र्याएर भारतसम्म सिमेन्ट निर्यात गर्ने गरेर करिब २५ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्न लागेको हो ।

आइएमईले दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुपलेको लेकसम्म १० किलोमिटर क्षेत्रफलसम्म खोजतलासको लाइसेन्स प्राप्त गरेको छ । पहिलो चरणमा ३५ वर्षसम्मका लागि पुग्ने गरेर ६८ हेक्टर क्षेत्रफलमा रहेको चुन ढुङ्गा उत्खननको प्रस्ताव गरिएको छ ।

प्रस्तावित खानीमा अनुमानित ४६।५ मिलियन टन चुन ढुङ्गा रहेको भूवैज्ञानिक प्रेम खड्काले बताउनुभयो । खानीबाट दैनिक चार हजार पाँच सय टन चुन ढुङ्गा उत्खननको प्रस्ताव राखिएको उहाँले जानकारी दिए ।

यहाँको ढुङ्गामा ५० प्रतिशत चुन ९क्याल्सियम अक्साइड० र १।२ प्रतिशत म्याग्नेसियम अक्साइड भेटिएको छ । नेपालमा सिमेन्ट उद्योगका लागि चाहिने चुन ढुङ्गामा तीन प्रतिशतभन्दा बढी म्याग्नेसियम अक्साइड राम्रो मानिँदैन । म्याग्नेसियम अक्साइडको मात्रा जति कम भयो त्यति राम्रो हुने आइएमई समूहका भूवैज्ञानिक खड्काले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा गरेको अध्ययन अनुसार बैतडीमा नेपालकै राम्रो चुन ढुङ्गा रहेको निष्कर्ष निकालेको थियो । प्रदेश सरकारको अध्ययनपछि आइएमई समूहले नवलपरासीपूर्वको चोरमारामा १० अर्ब रुपियाँको लागतमा सिमेन्ट कारखाना स्थापना गर्ने परियोजना स्थगन गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो । नेपाल–भारत सीमानाका झुलाघाटबाट ३५ किलोमिटर पूर्वमा रहेको खानीनजिकै उद्योग स्थापना गरेर नेपालको सिमेन्ट विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ ।

फलाम पनि भेटियो

सिमेन्ट उद्योगमा आवश्यक पर्ने फलामसमेत भेटिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने म्याग्नाइट आइरन सिगास गाउँपालिका–१, सुगरखालमा भेटिएपछि उद्योगीहरू थप उत्साहित भएका छन् । 

फलाम खोजतलास गर्ने अनुमति पाएको नेपाल जिन्दु माइनिङले सुगरखालमा पत्ता लगाएको खानीमा ३८ प्रतिशत फलाम भेटिएको छ । फलाम उत्खनन गर्ने कम्पनी पनि सिमेन्ट उद्योग खुल्ने प्रतीक्षामा छ ।

clock आइतबार २०, साउन २०८१ १०:४३

प्रतिक्रिया