नेपालमा भारतीय टीभी च्यानल प्रसारण बन्द

  आइतबार २०, साउन २०८१ ०६:११

काठमाडौँ । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

‘मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘०७९ चैत १५ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।’

च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेको र ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको ठाकुरले प्रस्ट्याए । ०८० साउन १ देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो । तर सरकार पछि हट्ने संकेत नपाएपछि भारतीय च्यानल आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए ।

सुरुवाती समयदेखि नै भारतीय टेलिभिजन च्यानलले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आएका छन् । प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने विषय मान्य नहुने भन्दै उनीहरू विरोधमा छन् । हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब विदेशी मुद्रा सिफारिस हुन नसकेको मन्त्रालयले जनाएको छ ।

clock आइतबार २०, साउन २०८१ ०६:११

प्रतिक्रिया