बाजुराको मैतोलाका स्थानिय पहिरोको डरले त्रिपालको बास बस्दै

  शुक्रबार ११, साउन २०८१ १०:०७

बाजुरा । बाजुराको खप्तडछेडेदह गाउँपालिका–६, मैतोलाका अधिकांश बासिन्दा गाउँमा पहिरो लाग्ने डरले घरबास छाड्दै त्रिपाल टाँगेर बस्न थालेका छन् । अविरल वर्षाका कारण मैतोला गाउँको तल र माथिबाट पहिरो बग्न सुरु भएको छ ।

पहिरोमा पुरिने डरले स्थानीय घर छाड्दै त्रिपालमुनि बस्न थालेका हुन् । गत साउन ५ गते राति घरमुनिसम्म पहिरो पुगेपछि घर छाडेर भाग्नु परेको मैतोलाका स्थानीय भिकारी नाथले बताए ।

घरमुनि नै पहिरो पुगेपछि डरले भागेर सुरक्षित स्थानमा त्रिपाल टाँगेर बास बस्ने गरेको उनको भनाई छ । ऋण जोहो गरेर गत वर्ष मात्र नयाँ घर बनाएका नाथ यो वर्ष घर छोडेर भाग्नु परेको गुनासो पोख्नुहुन्छ । स्थानीय केसे नाथ, बिर्केसे नाथ, केसे गुयाललगायत धेरै स्थानीयको उठिबास भएको छ ।

साउनको पहिलो हप्तादेखि सुरु भएको अविरल वर्षाका कारण पहिरोले घर जोखिममा रहेको बिर्केसे नाथले बताए । पहिरो प्रभावितलाई त्रिपालबाहेक अन्य केही राहत दिन नसकेको खप्तडछेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए ।

पहिरोबाट प्रभावित स्थानीयको अवस्थाबारे अध्ययन गरी जिल्ला विपत् व्यवस्थापन समितिमा पठाइएको अध्यक्ष विष्टले बताए । पहिरोका कारण नौ घर पूर्ण र सात घर आंशिक रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार गिरीले बताए ।

clock शुक्रबार ११, साउन २०८१ १०:०७

प्रतिक्रिया