सुदूरपश्चिमको खेलकुद क्षेत्रका हस्ती पूर्व फुटबल प्रशिक्षक खडकाको निधन

  मङ्गलबार ०८, साउन २०८१ १८:०८

धनगढी । पूर्व राष्ट्रिय फुटवल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ। खड्काको मङ्गलवार दिउँसो ११ बजे निधन भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएर उपचारकै क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ।

गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए। त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए।

महेन्द्र प्रहरी क्लवको प्रशिक्षक भएर पनि खड्काले काम गरेका थिए। सुदूरपश्चिममा प्रमुख फुटबल प्रशिक्षक भएर खड्काले खेलाडी उत्पादनमा योगदान गरेका थिए। खड्का प्रमुख प्रशिक्षक रहँदा धनगढीमा सम्पन्न छैटो राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम फुटबल टिमले स्वर्ण पदक जितेको थियो।

सुदूरपश्चिमको फुटबल खेलको इतिहासमा योगदान दिन सफल खड्काका दुई छोरा एक छोरी र श्रीमती छन्। खड्काको अन्तिम संस्कार बुधवार बिहान गोदावरी आर्यघाटमा गरिने भएको छ।


उत्तरबेहडीस्थित घरबाट बिहान ८ बजे शवयात्रा निकालिने मृतक खड्काका ज्वाइँ रोमजङ्ग स्वारले बताएका छन्। यस दुःखद घडीमा बिश्वास खवर परिवार मृतक खड्काप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

 

 

 

clock मङ्गलबार ०८, साउन २०८१ १८:०८

प्रतिक्रिया