बिषेश अधिवेशन : प्रदेश सभा छल्ने योजनामा मुख्यमन्त्री सोडारी, सत्तापक्ष सहभागी नहुने सकेंत

  सोमबार ०७, साउन २०८१ १५:३३

धनगढी । एमालेले समर्थन फिर्ता लिए सगैं अल्पमतमा परेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी प्रदेशसभाको बैठक छल्ने योजनामा छन् । प्रदेश सरकार अल्पमतमा परिसकेपछि पहिलो पटक प्रदेश प्रमुख नजिर मियाँले बोलाएको बिषेश प्रदेशसभा बैठकमा सहभागी नभएर सदल छल्ने रणनितिमा मुख्यमन्त्री सोडारी छन् ।

मुख्यमन्त्री सोडारीले साउन ८ गते मगंलबार प्रदेश प्रमुखले डाँकेको बिषेश प्रदेशसभा अधिवेशनबारे आफु जानकार नभएको प्रतिक्रिया दिएका छन् । अधिवेशन सरकारले आवह्वान नगरेको र सरकार सगं समन्वय नभएको सोडारीले बताए ।

मुख्यमन्त्री सोडारीले भने, ‘हामीले अधिवेशन आह्वान गरेका छैनौँ । अधिवेशनबारे हामीलाई थाहा छैन ।’ आज सभामुख भीमबहादुर भण्डारीले सभा सञ्चालनको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमा सत्तापक्षको उपस्थिति नहुने देखिएको छ । साथै आह्वान गरिएको विशेष अधिवेशनमा पनि उनीहरूको उपस्थिति नरहने देखिएको हो ।

प्रदेश सरकारका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले पनि अधिवेशनबारे आफूलाई थाहा नभएको र अधिवेशनको औचित्य पनि नभएको बताएका छन् । मन्त्री रावलले भने, ‘अधिवेशन सरकारले राख्ने हो । हामीले राखेका छैनौँ । यो अधिवेशन नै औचित्यहीन अधिवेशन हो । यसमा सरकारको उपस्थिति हुने सम्भावना न्यून छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा थियो । तर अध्यादेशको बाटोबाट बजेट ल्याउने बाटो नै बन्द गरी प्रदेश प्रमुख नजिर मियाँमार्फत विशेष अधिवेशनको आह्वान गरिएको छ । अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सरकारले प्रदेश प्रमुखलाई असार ३० गतेदेखि लागू हुने गरी बजेट अधिवेशन अन्त्यको लागि पत्राचार गरेको थियो । तर प्रदेश प्रमुख मियाँले साउन ३ गते राति १२ देखि लागु हुने गरी अधिवेशन अन्त्य गरे ।

त्यसको भोलिपल्ट प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (काँग्रेस एमालेसहित) विशेष अधिवेशनमा माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरे । त्यस लगत्तै प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार भएको हो । प्रदेश सभा सचिवालयले भोलि साउन ८ गते दिउँसो २ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाएको छ । असार १७ गते दुई ठुला दल कांग्रेस र एमालेबिच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।

clock सोमबार ०७, साउन २०८१ १५:३३

प्रतिक्रिया