सुदूरपश्चिमका प्रदेश प्रमुखद्धारा संसद अधिवेशन अन्त्य

  शुक्रबार ०४, साउन २०८१ ०७:१०

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य गरिएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति १२ बजेदेखि लागु हुनेगरि जारी बजेट अधिवेशन अन्त्य गरेका हुन्। 

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको जानकारी दिए।

प्रदेशको मन्त्रिपरिषद् बैठकले २९ असारमा प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नगरेर प्रदेश प्रमुख मियाँ सोही दिन प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन काठमाडौँ गएका थिए।

स्वास्थ्य समस्याको कारण देखाउँदै उनी नफर्किएपछि प्रदेश प्रमुखको कार्यालयले सरकारको बजेट अधिवेशन अन्त्य सम्बन्धी सिलबन्दी पत्र बिहीवार काठमाडौँ पठाएको थियो। प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेसँगै दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई अध्यायदेशमार्फत बजेट ल्याउने बाटो खुलेको छ।

clock शुक्रबार ०४, साउन २०८१ ०७:१०

प्रतिक्रिया