तुलसी रोपेर आज हरिशयनी एकादशी पर्व मनाइँदै
धनगढी । घर घरमा तुलसी रोपेर आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्व मनाइँदै छ । सनातन धर्मावलम्बीले आज आँगनमा तुलसीरोपण गर्दैछन् ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन तुलसी मोठमा सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने धार्मिक मान्यता छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ ।
कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुनेछ । यो चतुर्मास अवधि भर विशेष मांगलिक कार्य गर्न नहुने मान्यता छ ।
यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठ भने गर्न सकिने छ । यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ ।
वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व छ । चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइँचो लाग्ने गर्छ ।
आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा पनि तुलसीको महत्व छ ।
प्रतिक्रिया