सुदूरपश्चिमका स्वास्थ्य मन्त्री भाट स्वास्थ्य सामाग्री बोकेर बाढी प्रभावित क्षेत्रमा

  आइतबार ३०, असार २०८१ ०७:१३

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमबिक्रम भाट ‘सरल’ ले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

यहि असार २३ र २४ गते वर्षासँगैको आएको बाढी र डुबानमा परेका कञ्चनपुरका पाँच स्थानीय तहमा शनिवार स्थलगत निरीक्षण गर्दै मन्त्री भाटले प्रभावितहरूलाई औषध लगायतका स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका छन्। 

भाटले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र दोधाराचाँदनी नगरपालिका क्षेत्रको बाढी प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ।

बाढी तथा डुबान प्रभावित क्षेत्रमा फैलिन सक्ने संक्रामक रोगको उपचार तथा रोकथामका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरको समन्वयमा औषधी, विभिन्न कीट र अन्य स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको छ। 

स्वास्थ सामाग्री हस्तान्तरण  गर्दै मन्त्री भाटले बाढी तथा डुबानबाट प्रभावित भएका, प्रकोपजन्य रोग फैलिनसक्ने क्षेत्रको पहिचान गरि आवश्यकताका आधारमा वितरण गर्न निर्देशन दिएका छन्।

‘बाढी र डुबानले प्रभावित भएको क्षेत्रमा संक्रामक रोग नफैलियोस्, फैलिएपनि समयमै रोकथाम होस् भन्ने उद्देश्यले हामीले औषधी र स्वास्थ सामाग्री हस्तान्तरण गरेका छौँ,’मन्त्री भाटले भने, ‘अहिले अतिआवश्यक सामाग्री दिइएको छ। थप आवश्यक परेमा स्थानीय तहको मागका आधारमा वितरण गर्छौँ।’ 

साथै मन्त्रालयले यी बाहेकका अन्य बाढी र डुबान प्रभावित क्षेत्रमा समेत स्वास्थ सामाग्री र औषधी वितरण गर्ने योजना रहेको जनाएको छ।
 

clock आइतबार ३०, असार २०८१ ०७:१३

प्रतिक्रिया