सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राजीनामा दिन कांग्रेस, एमाले र नाउपाको एउटै स्वर

  शनिबार २९, असार २०८१ १३:०७

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनमा सघाउन नयाँ सरकार गठनको प्रक्रियामा सहजिकरण गर्न सुझाव दिइएको छ । 

शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन ।

‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन । उनले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । 

अल्मतमको सरकारले केही ठुला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादर शाहले भने ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँग सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यस्तै, नेकपा एमाले संसदीय दलकी उपनेता सन्ताेषी थापाले वर्तमान मुख्यमन्त्री दीर्घ साेडारी नेतृत्वकाे सरकारले ल्याएकाे बजेट पास नहुने हुँदा तत्काल राजीनामा गर्न आग्रह गरिन्। उनले अब नयाँ गठबन्धनकाे सरकार बन्ने भन्दै अल्पमतमा परेकाे सरकारले राजीनामा दिनु पर्न‍े बताइन्।

यसैगरी, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले अल्पमतमा परेकाे सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए। उनले बिचाैलियाले ल्याएकाे बजेट मान्य नहुने भन्दै वर्तमान सरकारले बजेटबारे छलफल नै नगरी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा गरेकाेमा आपत्ति जनाए।  उनले भने, ‘नयाँ गठबन्धनलाई सहयोग गरी अघि बढ्न नागरिक उन्मुक्ति तयार छ, हामी नयाँ गठबन्धनकै पक्षमा छाैं।’

clock शनिबार २९, असार २०८१ १३:०७

प्रतिक्रिया