सुदूरपश्चिम सहित देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  बिहिबार २७, असार २०८१ ०६:२२

काठमाडौं । बुधबार रातिदेखि मुलुकभर मनसुन सक्रिय भएको छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम आगामी शनिबारसम्म रहने विभागको भनाइ छ ।  बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

शहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको छ भने ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव ६ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा १८ दशमलव १ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा १५४ दशमलव २ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

clock बिहिबार २७, असार २०८१ ०६:२२

प्रतिक्रिया