कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

  आइतबार २४, बैशाख २०८० १२:११

कञ्चनपुर । कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् । 
 
कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक जीवन गौतमका अनुसार भण्डारी १५ वर्षको उमेरदेखि भारोत्तलनमा समिर्पित छन् । उनी प्रशिक्षक गौतमका उत्पादन हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका भण्डारी यतिबेला एसियाली च्याम्पियनसीपको तयारीमा छन् ।

उनी एक महिनादेखि प्रशिक्षक गौतमसँगै काठमाडौँमा बन्द प्रशिक्षणमा रहेका छन् । भण्डारीको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि उनले नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रजत पदक प्राप्त गरेका थिए ।

भण्डारीको साथमा कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक गौतमसमेत सहभागी हुनेछन् । आफ्नो तौल समूहमा उनले आठौँ र नवौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । 

“दक्षिण कोरियामा हुने एसियाली प्रतियोगिता ओलम्पिकका लागि छनोट प्रतियोगिता पनि हो”, प्रशिक्षक गौतमले भने, “तर छनोट भएर ओलम्पिकमा अहिलेसम्म नेपाली खेलाडी पुगेको इतिहास छैन ।” ओलम्पिक आयोजक राष्ट्रले ‘वाइल्ड कार्ड’ दिएर आमन्त्रण गरे नेपालबाट भारोत्तोलनबाट भढडारी ओलम्पिकमा सहभागी हुनसक्ने सम्भावना धेरै रहेको उनले बताए ।

clock आइतबार २४, बैशाख २०८० १२:११

प्रतिक्रिया