बाढी,पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न एमाले सुदूरपश्चिम संसदीय दलको माग

  मङ्गलबार २५, असार २०८१ ०८:३४

कैलाली । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेशमा विपद्बाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।  पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको थियो ।

तीन दिनमा  कञ्चनपुर र डडेल्धुरामा गरि पाँच जनाको ज्यान गुमाएका थिए भने दुई जना अझै बेपत्ता छन् ।बेपत्ताहरूको खोजीमा पनि सबै निकायले तदारुकता देखाउन उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

‘बाढी र पहिलोबाट भएको भएको क्षतिको यकिन तथ्याङ्क संकलन गरि तत्काल उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग संसदीय दल माग गर्दछ ’ दलका नेता रावलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि झरी पर्न सक्ने हुँदा जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्मा सबैले सबैलाई साथ दिएर आफू पनि जोगिन र अरूलाई पनि जोगाउन पनि हार्दिक आह्वान गर्दछौँ । सरकारका सबै निकाय, सुरक्षा संयन्त्र लगायत सम्पूर्ण नागरिकहरू समेत सचेत रहँदै विपद्मा भएकाहरूको उद्धार र राहतका साथै बाढी पछि फैलिन सक्ने संक्रमणको रोकथामका लागि पनि उचित व्यवस्था गर्न माग गर्दछु । ’

बाढी पछि फैलिन सक्ने संक्रमणको रोकथामका लागि पनि उचित व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् ।
 सोमबार पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको छ ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की सङ्गीता धामीका सात महिने बालकको डुबेर मृत्यु भएको छ ।  उता डडेल्धुराको पहिरामा परी परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको छ ।   कैलाली कञ्चनपुरमा दुई जना बेपत्ता भएका छन् ।

clock मङ्गलबार २५, असार २०८१ ०८:३४

प्रतिक्रिया