कञ्चनपुरका एक हजार ११२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

  सोमबार २४, असार २०८१ १७:५९

कञ्चनपुर । कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

जिल्लाका २ तिहाइ भूभाग बाढीबाट प्रभावित भएको र वेदकोट नगरपालिका–७ अन्तर्गत पर्ने पूर्व–पश्चिम सडकखण्डको महेन्द्र राजमार्गको कलभर्ट भासिएर बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले महाकाली नदीमा २ लाख २० हजार क्युसेक पानी बगिरहेको छ । पानी रोकिएपछि पानीको मात्रा घट्नेक्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । 

सुरक्षा समितिको आकस्मिक बैठक बसी जिल्लामा राहत र उद्धारका लागि स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत सबैलाई आवश्यकता अनुसार खटिन निर्देशन भएबमोजिम उद्धार र राहतको काम भइरहेको छ । 

अधिकांश ठाउँमा बस्न उच्चो ठाउँ, विद्यालय, सार्वजनिक ठाउँहरू प्रयोग गरिएको छ भने खाना खुवाउने व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार पानी निकास र उद्धारका लागि जिल्लामा १० भन्दा बढी जेसिबि प्रयोग गरिएको छ । दोधारा चाँदनी वडा –८ र ९ बढी प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा बेलडाँडी गाउँपालिका –५, र २, बेलौरी नगरपालिका–१० का बासिन्दा डुबानमा परेका छन् । 

यस्तै, कञ्चनपुरमा ३ दिनदेखि परेको अविरल वर्षासँगै खोला तथा नदीको सतह बढेका कारण ४ जनाको मृत्यु भएको छ । आज पुनर्वास नगरपालिका –५ नयाँ कटानका १५ वर्षीया लक्ष्मी बोगटी, १५ बर्षीया सिर्जना बोगटी र आरती बोगटी स्थानीय खोला तर्नेक्रममा बेपत्ता भएका थिए । लक्ष्मी र सिर्जनाको शव भेटिएको तथा आरतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । 

clock सोमबार २४, असार २०८१ १७:५९

प्रतिक्रिया