वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो

  सोमबार २४, असार २०८१ ०९:०८

कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रका अनुसार पछिल्लो तीन घण्टामा १०३ मिलिमिटर वर्षा भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार जिल्लामा हालसम्म ३३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जसमा भीमदत्त नगरपालिका – १८ सुकुम्वासी बस्ती महेन्द्रनगरका २ सय ५० परिवार, दोधरा चाँदनी नगरपालिका – १० का ७२ परिवार, पुर्नवास नगरपालिका – ५ र ७ का ११ परिवार रहेका छन् ।

चौधर नदी बेलडाँडी गाउँपालिका – ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका –३ , ४, ५ र बेलौरी नगरपालिका – १० क्षेत्र डुबानको जोखिममा परेका छन् ।

वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढी बिच आवतजावत बन्द भएको छ ।

महाशाखाले आज थप वर्षा हुनसक्ने जनाएको छ । उक्त क्षेत्र भइ बहने अधिकांश नदीहरुमा जलसतह खतराको बिन्दु आसपास रहेको जनाइएको छ ।

भारी वर्षासँगै खोला तथा नदीमा पानीको सतह बढ्ने हुँदा त्यसबाट पर्नसक्ने असरबाट जोगिन सबैमा अनुरोध गरिएको छ ।

 

clock सोमबार २४, असार २०८१ ०९:०८

प्रतिक्रिया