कैलालीका बस्तीमा बाढी पसेपछि १८५ परिवार विस्थापित

  सोमबार २४, असार २०८१ ०८:३३

धनगढी । पछिल्लो केही दिनदेखि परिरहेको वर्षाका कारण कैलालीका सबै स्थानीय तहको जनजीवन प्रभावित भएको छ ।

कैलालीका १३ स्थानीय तह मध्ये अहिलेसम्म सबै स्थानीय तहका बस्तीहरूमा बाढीले प्रभाव पारेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार अहिले पनि साना ठुला नदीहरूको बहाव बढिरहेको छ । ती नदीहरूको जल सतह बढेर पानी बस्तीमा पसेपछि स्थानीय विस्थापित हुने क्रम बढेको छ ।

मध्य राति सम्मको तथ्याङ्क अनुसार कैलालीका १८५ परिवारका ६६४ जनालाई सुरक्षित स्थानमा राखिएको छ । घरमा पानी पसेपछि र घर डुबान हुन थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको उनले बताए । अधिकांश स्थानमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा जोखिममा रहेका परिवारहरूलाई उद्धार गर्ने क्रम चलिरहेको छ ।

धनगढी, टीकापुर भजनी जोशीपुर सबै भन्दा धेरै बाढीको चपेटामा परेको छ । मोहना र कन्द्रा र कर्णाली नदीमा पानीको बहाव बढेपछि साना नदीहरू बस्तीमा पस्न थालेका छन् ।

अहिले काँडा पथरैया कटैनी लगायतका नदीहरू बस्तीमा पसेका छन् । जसका कारण सायौँ परिवार जोखिममा परेका छन् । उनीहरुको उद्धारको पहल भइरहेको जनाइएको छ ।

अझै पनि झरी परिरहेको हुँदा सम्भावित खतराबाट जोगिन नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

clock सोमबार २४, असार २०८१ ०८:३३

प्रतिक्रिया