सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
धनगढी । लगातारको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको सडक यातायात सेवा अवरुद्ध भएको छ ।
डडेलधुरा, डोटी, बैतडी, बझाङ, अछाम र बाजुरा जिल्लाका मूल सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख एसपी राजीव बस्नेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका ७ तमेल, बैतडीको खोड्पे बझाङ सडकखण्डको ढोल्यामोड, डडेलधुरा–बैतडी सडकखण्डको भालुमारे, डडेलधुराकै सुनखोलामा पहिरोले जोगबुडा–बुडर सडक, डडेलधुराको गन्यापधुरास्थित रडुवाखोला (डडेलधुरा–डोटी) सडक अवरुद्ध छ ।
यस्तै अछाम बाजुरा जोड्ने साँफे–मार्तडी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको एसीपी बस्नेतले बताए ।
‘पहिरो पन्छाएर सडक यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ । तर लगातारको वर्षालय कठिन भइरहेको छ,’ एसपी बस्नेतले भने ।
प्रतिक्रिया