सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध
धनगढी । लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।
दार्चुलाको मालिकार्जुन नगरपालिका–२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका–६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका–१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।
डडेल्धुराको रडुवामा पहिरो खसेको छ तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर–जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया