सुदूरपश्चिममा ८५ विद्यालयको नतिजा शून्य

  शुक्रबार २१, असार २०८१ १४:५२

धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन्। प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण भएका छैनन्। 

९ वटै जिल्लाबाट एक हजार १३२ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा ८५ विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास निर्देशनालयले जनाएको छ। बझाङबाहेक सबै जिल्लामा शून्य नतिजा ल्याउने विद्यालय छन्। सबैभन्दा धेरै डोटी र बैतडीबाट १८/१८ विद्यालयको नतिजा शून्य छ।

कैलालीका १५, कञ्चनपुर र डडेलधुराका ८/८, दार्चुलाका ७, बाजुराका ६, अछामका ५ वटा विद्यालयको नतिजा शून्य छ। बझाङबाट भने ८६ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा कुनै पनि विद्यालयको नतिजा शून्य नरहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ। सबैभन्दा बढी बझाङमा ४८.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको निर्देशनालयले जनाएको छ। डोटीबाट कूल परीक्षार्थीमध्ये १७.४८ प्रतिशत मात्र उतीर्ण भएका छन्।

बाजुराबाट एक सय विद्यालय एसईईमा सहभागी रहेकोमा ६ वटा, डोटीबाट पनि एक सय विद्यालय सहभागी रहेकोमा १८, डडेलधुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएकामा ८, कैलालीबाट २ सय ९७ विद्यालय सहभागी रहेकोमा १५ र कञ्चनपुरबाट दुई सय विद्यालय सहभागी रहेकोमा ८ वटा विद्यालयको नतिजा शून्य आएको छ।

त्यस्तै अछामबाट ७० विद्यालय सहभागी रहेकामा ५, दार्चुलाबाट ७६ वटा विद्यालय परीक्षामा सहभागी रहेकामा ७ र बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ को नतिजा शून्य आएको छ। सुदूरपश्चिबाट एसईई दिएका ५३ हजार ४ सय ४६ जनामध्ये १७ हजार ३६ जना ३१.४८ प्रतिशत मात्रै ग्रेडिङमा परेका छन्।

clock शुक्रबार २१, असार २०८१ १४:५२

प्रतिक्रिया