सुदूरपश्चिममा खगराज भट्टलाई दल नेता बनाउन फेरी सर्कुलर

  बुधबार १९, असार २०८१ १६:२७

धनगढी । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता खगराज भट्टलाई बनाउन सर्कुलर नै जारी गरेको छ। हिजो (मंगलबार) पार्टी केन्द्रबाट खगराजलाई दल नेता बनाउने प्रक्रियामा ढिलाई भएको भन्दै यथाशीघ्र दल नेता बनाउन सर्कुलर जारी गरिएको हो। 

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले सर्कुलर जारी भएको तर त्यसको आफूले अध्ययन गर्न बाँकी रहेको जानकारी दिए। उनकाअनुसार पार्टीको सर्कुलर दल र पार्टीको प्रदेश नेतृत्वलाई आएको हो।

यस अगाडि केही समय पहिले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराजलाई नै बनाउन निर्देशन दिएका थिए। 

सुदूरपश्चिमबाट सभामुखबाहेक माओवादीका सबै सांसदहरुलाई काठमाडौं बोलाएर प्रचण्डले स्थायी कमिटी सदस्यसमेत रहेका खगराजलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका थिए।

तर सो निर्देशन कार्यान्वयन नभएपछि पुनः सर्कुलर नै जारी गरिएको बताइएको छ। जबकी यस अगाडि सुरुमा दल नेता बनेका खगराजको अपमानजनक बहिर्गमन भएको थियो। खगराजलाई तत्कालीन समयमा बहुमतको निर्णयबाट हटाएर अर्का सांसद मानबहादुर धामी दल नेता बनेका थिए। पूर्वमन्त्री समेत रहेका धामी दार्चुलाबाट निर्वाचित माननीय हुन् भने खगराज डडेल्धुराबाट जितेर संसद् पसेका सांसद हुन्।

खगराजको पद खोसेर धामी दल नेता भएपछि सुदूरपश्चिमको संसदीय दलमा २ धार छन्। दुई धारमा दल विभाजन रहेकै बेला प्रचण्डले खगराजलाई दल नेता बनाएर सहमतिसहित जान भनेको बुझिएको छ।तर सो निर्देशन र सर्कुलर कार्यान्वयन हुने सम्भावना भने न्यून रहेको माओवादीकै नेताहरुको भनाई छ। किनकी हालका दल नेता धामीले राजीनामा दिएर सजिलै खगराजलाई दल नेता बन्ने सुविधा नदिने जनाउँदै आफू प्रक्रियाबाट नेता बनेकाले उनलाई पनि प्रक्रियाबाटै नेता बन्न सुझाउँदै आएका छन्।

उनका अनुसार प्रचण्डले निर्देशन दिएपनी संख्यात्मक हिसावले खगराज दल नेता बन्न नसक्ने अवस्थामा छन्। सुदूरपश्चिममा सभामुखबाहेक माओवादीका १० जना सांसद छन्। १० जनामध्ये ५ जना दल नेता धामीको पक्ष र ५ जना खगराजको पक्षमा देखिएका छन्। पाँचरपाँच जना दुई समूहमा हुँदा दुबै समूह बराबरीमा देखिएका छन्।

clock बुधबार १९, असार २०८१ १६:२७

प्रतिक्रिया